रूपन्देही- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र परिवर्तनका पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको दाबी गरेका छन्। रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ।’
भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सकिँदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको बताउँदै प्रचण्डले भने, ‘को शक्तिशाली बन्दै छ भन्ने संकेत देखिएको छ।’ उनले जहाँ गए त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको दाबी गर्दै नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न नदिने प्रतिबद्धता जनाए। उनले भने, ‘प्रतिक्रियावादी जालीझेलीहरूले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन्। हामी समाजवादी नयाँ आन्दोलनमार्फत त्यसको प्रतिवाद गर्नेछौँ।’
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए।
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उनले दिएका छन्।