खोक्रो राजनीतिले रित्तिएको मेरो गाउँ

सागर रावल २९ मंसिर २०८१ १६:४०
52
SHARES
खोक्रो राजनीतिले रित्तिएको मेरो गाउँ

अछाममा केही समयअघिसम्म रमाइला ती बस्ती आज कताकता उराठलाग्दा र नियास्रा ठाउँका रूपमा परिणत भएका छन्। मानो रोपेर मुरी फलाउने कान्लाबारीहरू बिस्तारै जंगलमा परिणत हुन थालेका छन्। ढुंगामाटोको झुपडी भए पनि वर्षात्‌को पानी र घामको तेज छेक्न अप्ठ्यारा भिर र कान्लामा गएर बाबियो (बनकस) काट्ने पुरानो पुस्ता पनि निरीह बन्दै गइरहेको छ। झुपडीहरू कुहिएको खरको छानोले जेनतेन ढाकिएका छन्। केही झुपडीहरू आफ्नो लाज छोप्न असमर्थ हुँदै नांगै हुँदै त्यो ओत गुमाउँदै भग्नावशेषमा परिणत हुँदै छन्। रमाइला बस्तीहरू नियास्रा लाग्दा र उराठलाग्दा भइसके।

ती कान्लाबारीहरू भग्नावशेष बन्दै गरेको झुपडीलाई सोध्दैछन्, ‘खै हिजो तिम्रो ओत लाग्ने ती मनुवाहरू? यहाँ मेरो छातीमा अन्नबाली होइन जंगली वनस्पतिले बिस्तारै गाँजिरहेको छ। कहाँ गए ती हातहरू जसले मलाई रातदिन खनजोत गर्दथे? कति मिठो अन्न फलाउन सफल रहन्थे? खै आज ती हातहरूमा मिठो माड लागेको छ रे? मेरो छातीमा फलेको कोदो, फापर, गहुँ जौ, मकै अनि उवा त अब उनीहरूका लागि नमिठो भइसकेको छ होला सायद?’

मिठो चामलको भात खान पाएपछि कसले पो हेर्छ र कोदो फापर? पाखुरा नचलाई बसेर मिठो खान पाइन्छ भने कसले पो पाखापखेरा खनजोत गरिरहोस्? एउटाले कमाउँछ। अरूले खान्छन्। कमाउनेले बेलामा खान पाउँदैन तर उसैको कमाइबाट परिवार चलाउनेलाई बिहानको भात साँझलाई बासी हुन्छ। साँझको भात बिहानलाई बासी हुन्छ। बारीमा सागसब्जी छैन।  गोठमा गाईबस्तु छैनन्। भकारीमा धानगहुँ छैन र पनि तुजुक त कहाँ सानो छ र? पल्लाघरे साहिँलीले घोडा चढे आफूले मुढो चढ्न खोज्ने होडबाजी चलिरहेको छ। मुठीको उत्पादन छैन। पाथीको धाक लगाइरहेका छन् मान्छेहरू!!

अरूको देखासिकी गर्ने चलन बढिरहेको छ हाम्रो समाजमा। यो तितो र खतरनाक विचलनलाई हामी सबैले मिलेर परास्त गर्न सकेनौँ भने आउँदो पुस्ता निकै तल्लो तहसम्म झर्नेछ र गरिबीको दलदलमा नराम्रोसँग डुब्नेछ।

उहिले मान्छेहरू छोराछोरीले सरकारी जागिर पाए भने नाक फुलाएर गौरवान्वित महसुस गर्दथे। सबैसामु आफूलाई भाग्यमानी सम्झन्थे। सबैले उनीहरूलाई मानसम्मान पनि गर्दथे। त्यतिबेला कसले कति पैसा कमायो भन्ने कुराले त्यति धेरै महत्त्व राख्दैनथ्यो। महत्त्व राख्थ्यो त केवल कसले कसरी पैसा कमायो र कसको इज्जत, मानसम्मान कति छ भन्ने कुराले। आज त सबै कुरा उल्टो भइरहेको छ। जसले धेरै सम्पत्ति कमायो उही मालिक बनिरहेको छ।

सामाजिक विचलन बढेर चोरीडकैती बढिरहेको छ। भ्रष्टाचार मौलाइरहेको छ। नेपाली समाजमा भ्रष्टाचार नभएको ठावैँ छैन भने पनि हुन्छ। त्यो चाहे बिजुली बत्तीको बिल तिर्दा हो या पानीको बिल तिर्दा होस् या अस्पतालको लाइनमा उभिएर आफ्नो पालो कुर्दै गर्दा होस्। एकले अर्कालाई पालो मिचेर जित्ने होडबाजी चलिरहेको छ। आफ्ना मान्छे भएमा काम चाँडै हुन्छ नत्र त सरकारी अड्डामा जान पन त्यति रमाउँदैन कर्मचारीको व्यवहार देखेर।

अब त उहिले पितापुर्खाहरूले बनाइदिएको स्कुल, कलेज अनि सडकहरू दिनानुदिन भत्किरहेका छन् तर निजीकरण त फस्टाइरहेको छ। बोल्न सक्नेहरू र समाजका लागि केही गर्न सक्ने बौद्धिक जनशक्ति दिनानुदिन विदेश पलायन भइरहेको छ। उहिले हाम्रो समाजले लाहुरबाट फर्केको छोरोसँग गर्व गर्दथे तर आजभोलि छोराछोरी अनागरिक भएकोमा आफूलाई गौरवान्वित महसुस गर्छन्। जसले आफ्नो जन्मभूमि छाडेर अर्कालाई आफ्नो जननी सम्झेर शपथ लिन्छ। त्यसले के यो देशलाई नेतृत्व दिन सक्ला त?? आफ्नो देशको नागरिकता त्यागेर अनागरिक हुँदै गर्दा आफूलाई सफल सम्झन्छ। उसैलाई बधाई दिन्छौँ हामी, हाम्रो समाज अनि ती रमाइला बस्ती नरित्तिए कहाँका बस्ती रित्तिएलान त??

छोरो अनागरिक बन्नलाई देश छोड्यो। बुहारी ती पहाडी काखापाखाहरू छोडेर ऐसआराम गर्न सहर पसी। त्यतिबेलासम्म त ठिकै थियो तर कतिले त आफ्नो धरातल बिर्सिएर बसिबसाउ सुन्दर घरबार उजाड बनाइरहेका तिता सत्यहरू तपाईँहामीबीच साक्षी छन्। भात खाने मुखले भात खान्छ अनि भात नखाने मुखले के खाने भन्दै त्यसका लागि चारो चर्न थाल्दाथाल्दै घरबारसमेत ध्वस्त पारेर न घरका न घाटका भइरहेका छन्।

सहरको मस्ती ती पहाडी काखापाखामा सजिलै मिल्दैन। त्यसैले त ती पाखाबारी अनि डाँडामाथिको घामजस्तै भइसकेका बाआमा छोडेर सहर छिर्दैछन्। हजार कमाउँदै गर्दा लाखको खर्च गर्छन्। सहरले न त ती पहाडी पाखापखेरा चिन्दछ न त ती बूढा बाआमाको इज्जत चिन्दछ। पहाडमा त्यो स्वतन्त्रता अनुशासनभित्र मिल्दछ भने सहरमा त्यो कुरा ती अनागरिक बन्दै गरेका श्रीमान्‌का  श्रीमतीहरूलाई विशेष छुट दिएको छ र त कैयौँका घरबार ध्वस्त भएका छन्।

पाखापखेरालाई सम्बन्धको न्यानोपन चाहिन्छ। बूढापाकाहरूलाई इज्जत र मानसम्मान चाहिन्छ तर ती सहर पसेका बुहारीले त्यो कुन पक्षीको नाम हो भन्ने बिर्सिरहेका छन् र त ती रमाइला पाखापखेरा अनि गाउँघर र मझेरी रित्तिँदै गइरहेका छन्। यसको जिम्मेवार हाम्रा पितापुर्खाहरूले लिनुपर्छ किनभने हामीले नयाँ पुस्तालाई संस्कार र संस्कृति सिकाउन सकेनौँ तर गुलाम र अनागरिक बन्न प्रेरित गर्‍यौँ। त्यसैले हजारौँ युवा विदेश पलायन भइरहेका छन्।

इमानलाई बेइमानीको बजारमा मूल्य नमिलेपछि आफ्नो मूल्य खोज्दै युवा विदेश पलायन भइरहेका छन्। कैयौँ युवा दिनानुदिन अनागरिक बनिरहेका छन्। हाम्रो देशको शैक्षिक प्रणाली व्यवस्थित बनाउन सफल कोही भएनन्। त्यसैले त पढाउँदै गरेका मास्टरहरू अनागरिक बन्न देश छाडेर हिँड्दैछन् भने तिनीहरूले दिएको शिक्षाबाट नयाँ पुस्ताले के सिकोस? यो बडो दुःखद पक्ष हो तर यहाँ एकले अर्कालाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने चलन छ र त ती रमाइला गाउँघर अनि मझेरी रित्तिँदैछन्।

कहिले हामीले हाम्रो देश नेपाल अनि हामी नेपाली भएकोमा आफूलाई गर्व गर्न सकौँला? यसका लागि अहिलेको यो खर्चिलो व्यवस्था अनि यस व्यवस्थाका मतियारहरूलाई ध्वस्त पार्नुपर्नेछ। तबमात्र यो देशले विकासका पाइला चाल्न सक्नेछ नत्र त यस्तै गाउँघर र बस्ती रित्तिँदै जानेछन् अनि एक दिन नेपाल र नेपालीको अस्तित्व समाप्त हुनेछ। त्यसैले सबैलाई बेलैमा चेतना होस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast