कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

हिमाल प्रेस २९ मंसिर २०८१ १४:३४
10
SHARES
कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित महाभियोगका विषयमा संसद्‌मा मतदान भइरहेका बेला दक्षिण कोरियाको राजधानी सियोलको ग्वाङह्वामुनमा राष्ट्रपति युन सुक योयोलको समर्थनमा आयोजित प्रदर्शन। तस्बिर एएफपीररासस

काठमाडौँ- दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउने निर्णय गरेको छ। संसद्मा शनिबार भएको मतदानमा २०४ जना सांसदहरूले महाभियोग प्रस्तावका पक्षमा मतदान गरेको बीबीसीले जनाएको छ। मतपरिणाम घोषणा हुनेबित्तिकै डेमोक्रेटिक पार्टीका सदस्यहरूले खुसी मनाएका थिए। सत्तारूढ दलका सदस्यहरू चुपचाप सभा कक्ष छोडेका थिए।

मतदानमा संसद्का सबै ३०० सांसदहरूले भाग लिएका थिए। प्रस्तावका विपक्षमा ८५ जनाले मतदान गरेका थिए। यसैगरी ३ जना तटस्थ रहेको समाचारमा उल्लेख छ। चार मत भने रद्द भएको थियो।

यसपछि सभामुख ऊ वोन सिकले महाभियोग प्रस्ताव पारित भएको घोषणा गरेकमा थिए। उनले भनेका छन्, ‘कोरिया गणतन्त्रको भविष्य र हाम्रो आशा जनताको हातमा छ। हाम्रो आशा बलियो छ। धेरै धन्यवाद!’

सभामुख ऊ वोन सिकका अनुसार महाभियोगसम्बन्धी कागजातको प्रतिलिपि राष्ट्रपति युन र संवैधानिक अदालतलाई हस्तान्तरण गरेपछि राष्ट्रपतिको अधिकार र कर्तव्य निलम्बन हुनेछ।

प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। अधिकार निलम्बन भए पनि राष्ट्रपति यून संवैधानिक अदालतले महाभियोगलाई मान्यता दिने वा नदिने निर्णय नगरेसम्म पदमा रहिरहनेछन्।

महाभियोग प्रस्ताव पारित हुँदैमा राष्ट्रपति युनलाई स्थायी रूपमा पदमुक्त गरिन्छ भन्ने ग्यारेन्टी छैन। महाभियोग प्रक्रिया पूरा हुन नौ साता लाग्ने कोरियाको संवैधानिक व्यवस्था छ। अब यसबारे संवैधानिक अदालतमा सुनुवाइ हुनेछ। नौ सदस्यीय अदालतका सदस्यले महाभियोगलाई मान्यता दिने पक्षमा मतदान गरे मात्र राष्ट्रपति पदमुक्त हुनेछन्। यस्तो अवस्थामा ६० दिनभित्र नयाँ राष्ट्रपतिका लागि चुनाव घोषणा गरिनेछ।

संसद् भवनबाहिर के पप समूह गर्ल्स जेनेरेसनको गीत ‘इन टु द न्यु वर्ल्ड’ बोलको बजाएर खुसियाली मनाइएको छ। बीबीसीले उल्लेख गरेको छ, ‘चारैतिर खुसीको वातावरण छ, मानिस गीत गाइरहेका छन्। आकाशमा पटाका पड्किरहेका छन्।’ महाभियोगको मतदानअघि पनि यही गीत बनाइएको थियो।

प्रकाशित: २९ मंसिर २०८१ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast