पहाडी वा हिमाली क्षेत्रमा मानव निर्मित एक ढाँचाको भूमि हो। पानी जमाएर धान रोप्न डिलमा आली लगाई बनाइने खेतको अलगअलग भागलार्ए हामी गरा भन्छौँ। पहाडमा बस्ती बसालेका मानिसले पुस्तौँपुस्तादेखि अर्थात् सयौँ वा हजारौँ वर्षअघिदेखि यही गरोमा अन्न उब्जनीका लागि खेतीपाती गर्दै आएका छन्।
वास्तवमा, प्रागैतिहासिक कालमा यी गराहरूमा खेतीपाती गरिन्थ्यो। उहिलेका मानिसले अन्नबाली उब्जाउन वा किल्लाका रूपमा प्रयोग गर्न पहाडका जंगल फडानी गरेका थिए। विश्वका धेरै भूभागहरूमा यस्ता गरा खेतहरू छन्।
यी गराहरू हेर्दा लाग्छ आकाशमा पुग्नका लागि बनाइएका भर्याङ हुन्। जुन देख्नमा पनि त्यति आकर्षक हुन्छन्।
हिजोआज काठमाडौँ उपत्यकामा यस्ता दृश्य कंक्रिट जंगलले विस्थापित गर्दै लगेको छ। विश्वमा यस्ता गरा खेतहरू पर्यटक तथा फोटोग्राफरको छनोट हुन सक्छ भन्ने नेपालीले खासै बुझेका छन् जस्तो देखिँदैन। असार १५ मा धान दिवसका रूपमा रोपाइँमा पर्यटकलाई सामेल गराए तापनि यसरी गरा खेतलाई एक पर्यटकीय गन्तव्य बनाएको थाहा छैन।
चीनको युननान प्रान्तको युआनयाङ काउन्टीको भ्रमणले यस्तो पाटो पनि देखाएको छ। हुन त १० वर्षअघि चिनियाँ राइस टेरेस अर्थात् धानखेतका गराका खेत देख्दा चकित्तुल्याएको थियो।
सन् २०१३ मा समाचार यस्तै थियो, युननान प्रान्तको युआनयाङ काउन्टीको आइलाओ पर्वतको दक्षिणमा अवस्थित हानी राइस टेरेसलाई विश्व सम्पदा क्षेत्रको रूपमा सूचीबद्ध गरिएको छ। त्यो बेला मनमस्तिष्क एकपटक घोरिएको थियो र अहिले पनि। अहिले त्यही गरा खेतको अवलोकनको अवसर मिलेको छ। गरा खेतसम्म आई ढाक्ने अनि आकार बदलिँदै सुस्तरी उड्ने बादलको चाल तथा गरा खेतमा पोखिने र देखिने रङहरू!! ओहो! मनमोहक! अति सुन्दर! यति नै बेला मनको एक भाग भने नेपाल पुग्यो र अर्को टुक्राले भन्यो, चीनबाट सिक्ने कुरा धेरै छन्।
चिनियाँ भाषामा थिथ्येन भनिने राइस टेरेस वा टेरेस्ड राइस फिल्ड्स अर्थात् गरा धानखेत चीनमा सुन्दर दृश्य र आकर्षक सांस्कृतिक सम्पदाको साथ एक प्रमुख पर्यटक आकर्षण हो। चिनियाँ भाषामा थिले भर्याङ र थ्येनले भूमि वा खेतको अर्थ दिन्छ। चीनका यी गरा खेतको भ्रमणले पर्यटकलाई चीनको कृषि, समृद्ध सांस्कृतिक परम्परा, ऐतिहासिक पक्ष र जातीय विविधताको बारेमा जानकारी प्रदान गरेको छ।
धान चिनियाँका लागि एक महत्त्वपूर्ण खाद्यबाली हो भने धान फलाउने यस्ता खेतहरू चिनियाँ सभ्यताको एक हिस्सा मानिन्छ। करिब दुई हजार वर्ष पहिलेदेखि चीनमा यस्ता गरा खेतहरू रहेका छन्। जसलाई पर्यावरण अनुकूल कृषि प्रणाली पनि हो भन्दा फरक पर्दैन। चीनका विभिन्न प्रान्त र क्षेत्रमा यस्ता गरा खेत छन्, प्रत्येक क्षेत्रका गरा खेतले अद्वितीय टेरेस्ड ल्यान्डस्केपहरूको मनमोहक दृश्य पस्केको हुन्छ। युआनयाङको प्रख्यात सुन्दर गरा खेतहरूले मानव र प्रकृतिबीचको सद्भावलाई समेत उजागर गरेका छन्।
युआनयाङ गरा खेत
युआनयाङ गरा खेत युननान प्रान्तको युआनयाङ काउन्टीको आइलाओ पर्वतको दक्षिणमा अवस्थित छ। यहाँ पुस्तौँदेखि चीनको अल्पसंख्यक जातिमध्येको एक हानी जातिले खेती किसानी गर्दै आएका छन्। यो युआनयाङ गरा ‘चीनकै सबैभन्दा सुन्दर पर्वत नक्कासी’ को रूपमा प्रसिद्ध छ। समुद्र सतहबाट १४० मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा फैलिएको गरा खेतको मनोहर दृश्यले जो कोहीलाई मन्त्रमुग्ध पार्छ।
होङ ख्ह नदीको दक्षिण किनारामा अवस्थित युआनयाङ काउन्टीमा मात्र एक लाख ७० हजार एकड गरा खेत छन्। यहाँ अवलोकनका लागि तीन मुख्य प्राकृतिक स्थानहरू छन् – पाता दर्शनीय क्षेत्रमा १४ हजार एकडभन्दा बढी गरा खेतहरू समावेश छन्। यस्तै लाउहुचुई प्राकृतिक क्षेत्रमा लगभग ६ हजार एकड र त्वोई सु दर्शनीय क्षेत्रमा दसौँ हजार एकडको गरा खेतहरू छन्।
यसबाहेक यहाँ सूर्योदय, सूयास्तको समय र धान रोप्ने तथा पाकेको सिजन गरी विभिन्न समय र मौसममा कुन ठाउँ र क्षेत्र अझै सुन्दर हुन्छ भन्ने सूचीसमेत पाइन्छ। यी गरा खेतहरूले पानी पर्ने मौसममा आश्चर्यजनक प्रतिबिम्बहरूको निर्माण र विनिर्माण गर्दै तथा रोपाइँका बखत फेरि अर्को भरिलो दृश्य र लहलह बाली लागेको समयमा हावासँगको बयेलीले जीवन्त रङहरू सिर्जना गर्दछन्।
विश्वकै सबैभन्दा ठूलो र भव्य दृश्ययुक्त गरा खेतको रूपमा यस गरा खेतहरूले वर्षभरि नै चित्ताकर्षक दृश्य प्रदर्शन गर्दछन्। फोटोग्राफर र प्रकृति प्रेमीहरूका लागि युआनयाङ गराले भव्य सांस्कृतिक तथा प्राकृतिक दृश्यको रस्वादन गराउँछ।
युआनयाङ गरा खेत चीनमा सबैभन्दा राम्रा गरा धानखेतहरू मध्ये एक हो, जुन १३ हजार वर्षभन्दा पहिले हानी जाति मानिसहरूद्वारा निर्माण गरिएको मनमोहक परिदृश्यका लागि प्रसिद्ध छ। पहाडको माथिल्लो भाग वनजंगल हो, पहाडको घाटी एउटा गाउँ हो, पहाडको फेद नदीको बेंसी हो र पहाडभरि गरा खेतहरू छन्। यसरी वन, बस्ती, नदी र खेतीपातीबाट पहाड बीचमा कृषि क्रान्तिका साथै एउटा सुन्दर दृश्यको निर्माण पनि भएको छ।
विशाल जंगलको छायाँमा बादलको समुद्रको आवरणमा यति धेरै गरा धानखेतहरूले एक जादुमयी र सानदार परिदृश्यको सिर्जना गर्दछ। यी रमणीय स्थलहरू संरक्षित क्षेत्रहरू पनि हुन्, जुन विश्व सम्पदाका क्षेत्रहरूमा सूचीकृत भएका छन्। सन् २०१३ को जुनमा युनेस्कोले युआनयाङ गरा खेतलाई होङ ख्ह गरा खेतको सांस्कृतिक परिदृश्य घोषणा गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। युआनयाङ गरा खेतहरू चीनको ४५औँ युनेस्को विश्व सम्पदामा सूचीकृत स्थल हो र हानी राइस टेरेस चीनको सबैभन्दा ठूलो टेरेस फिल्ड पनि हो।
चीनको युननान प्रान्तको सदरमुकाम खुनमिङबाट ३२० किलोमिटर टाढा तथा सडकमार्ग भएर ६ देखि ७ घण्टामा पुग्न सकिने यो होङ ख्ह प्रिफेक्चर मातहतको युआनयाङ काउन्टीमा गरा खेतबाहेक हानी र यी जातिको संस्कृति, रीतिरिवाज र चालचलनको अनुभव पनि गर्न सकिन्छ। चीनमा क्विलिनको लोङची गरा खेतलगायत अरू धेरै गरा खेतहरू आआफ्नो विशेषतासहित विश्व प्रसिद्ध छन्।
चीनमा छिन र हान राजवंशकालमा गरागरामा धानखेती गर्न थालेको थियो। पहाडी इलाकामा बस्ती बसाउने क्रममा पानीको भण्डारण गर्दै पहाडी क्षेत्रको ठूलो क्षेत्रफलमा धानखेती थालेका थिए। गरा खेतले भूक्षय नियन्त्रणका साथै माटोको संरक्षण समेत गर्दछ। चीनको खेतीयोग्य जमिन १.९१८ बिलियन मु (क्षेत्रफल नाप्ने चिनियाँ पद्धति) छ, जसमध्ये एक चौथाईभन्दा बढी यस्ता गरा खेत छन्।
काठमाडौँ उपत्यका छेउछाउमा र नेपालका पहाडी क्षेत्रमा हानी टेरेस्ड फिल्डजस्तै मनमोहक दृश्य हेर्न पाइन्छ। वर्षापछि खेतका गरा पानीले भरिएका हुन्छन्, नीलो आकाश र सेतो बादल र हरियाली पहाड बीच धान रोपाइँ, त्यसपछि धान बालीको बयेली निकै चित्ताकर्षक पो हुन्छ। तर हामीले यसलाई पर्यटकीय गन्तव्य बनाउन सकेका छैनौँ न त संरक्षण नै गरेका छौँ।
त्वोई सु क्षेत्रबाट अचाख गाउँ पुगेर त्यहाँको जीवन्त सङ्ग्रहालयरूपी गाउँको भ्रमण, च्याउजस्ता घर र गरा खेतको आली भएर हिँड्नु कुनै प्राचीन समयमा फर्केको महसुस गरियो।