काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ। शनिबार टीयू क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौँलाई पोखराले ८ विकेटको क्षतिमा १३८ रन जोड्यो।
पोखराका लागि रेमन्ड रेइफरले नटआउट ४१ रन जोडे। अन्तिम ओभरमा १७ रन प्रहार गरेका उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे। पोखराका ओपनर दिनेश खरेलले ३८ रनको योगदान गरे। छैटौँ ओभरमा रशिद खानलाई लगातार चार चौका प्रहार गरेपछि उनी अन्तिम बलमा आउट भएका थिए। उनले २५ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै ओपनर आन्द्रेस गौस भने शून्यमाआउट भए। उनलाई दोस्रो ओभरमा गेरार्ल्ड इरासमसले माइकल लेभिटबाट क्याच गराए। कप्तान कुशल भुर्तेल ७ रन र दिलीप नाथ २७ रन जोडेर आउट भए। दुवैलाई रशिद खानले बोल्ड गरेका थिए।
आकर्षित गोमेल ८ रनमा लेभिटको एलबिडब्लूको धरापमा पर्दा माइल लिस्क पनि करण केसीबाट १ रनमै एलबिडब्लू आउट भए। करण केसीले नारायण जोशीलाई पनि रशिद खानबाट क्याच गराउँदा डकआउटको सिकार बनाए।
बलिङमा काठमाडौँका रशिद खान र करण केसीले ३/३ विकेट लिए। करणले ४ ओभरमा २४ रन दिँदा रशिदले ४३ रन खर्चिए।