काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देललाई भारतका राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी छन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका सिग्देललाई बिहीबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा मानार्थ महारथीको दर्जाबाट सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाल र भारतको परम्पराअनुसार प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी हुन्।
त्यस अवसरमा दुई देशको पछिल्लो अवस्था र सेनाको आधुनिकीकरणलगायतका विषयमा पनि छलफल भएको थियो। उनले भारतका ससमक्षी उपेन्द्र द्वीवेदीसँग भेटवार्ता गरिसकेका छन्। सिग्देलले भारतीय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय सेनाका रक्षा प्रमुख जनरल अनिल चौहान, परराष्ट्र सचिव, रक्षा सचिवलगायतका उच्च अधिकारीसँग वार्ता गरेको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहँदै आएको छ। भारतीय सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको महारथीको दर्जाबाट सुशोभित गरिसकेका छन्। नेपाल भ्रमणमा आएका बेला सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते नेपाली सेनाको महारथीको दर्जाबाट सुशोभित गरिएको थियो।
प्रधानसेनापति भएपछि सिग्देलको पहिलो विदेश भ्रमण हो। मंगलबार भारत गएका सिग्देल २९ गते स्वदेश फर्कने कार्यक्रम छ। सिग्देल भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १७ औँ सेनापति हुन्।
नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए। त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुलशमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वलशमशेर जबरा, प्यारजंग थापा, रुक्मांगद कटवाल, छत्रमानसिंह गुरुङ, गौरवशमशेर जबरा, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा गरी १६ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन्।
भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए। त्यसयता १९ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन्।