शिक्षण पेसा छाडेर किबी खेतीमा लागेका थापाले कमाउँछन् वार्षिक दश लाख

हिमाल प्रेस २७ मंसिर २०८१ १३:१८
10
SHARES
शिक्षण पेसा छाडेर किबी खेतीमा लागेका थापाले कमाउँछन् वार्षिक दश लाख फाइल तस्बिर

डडेल्धुरा/अमरगढी- आलिताल गाउँपालिका-२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

२०७० देखि व्यावसायिक किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्छ। उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल किबी फलेको छ।

शिक्षण पेसा छाडेर ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए। किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिए।

मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुन्छ। उनले भने, ‘यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नुअगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ।’

किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बीबीसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए।

२०७३ सालमा पहिलोपटक तीन क्विन्टल उत्पादन बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको बताए। पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको छ।

हाल बिरुवा र फलबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी गरिरहेका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्।

प्रकाशित: २७ मंसिर २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast