काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर १५ देखि पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ। यो प्रतियोगिताले क्रिकेटप्रेमीको क्रेज बढिरहेको छ। उपयुक्त रंगशाला नहुँदा पनि क्रिकेट हेर्न दर्शक रुखको टुप्पासम्म पुगेर खेलाडीलाई थप हौसला प्रदान गरिरहेका छन्। जारी एनपीएलमा केही सेलिब्रेटीहरु पनि त्रिवि मैदानमा पुगेर खेलाडीलाई समर्थन गरिरहेका छन्। उनीहरू सामाजिक सञ्जालमा पनि उनीहरू आफ्ना समर्थक टिमको भिडियो र तस्बिर साझा गरिरहेका छन्।
दर्शकलाई खेलप्रति ध्यान केन्द्रित गर्न भनेर नै केही टिमले अग्रजदेखि चर्चित कलाकारलाई ब्रान्ड एम्बेसडर, फेस अफ किङ, भ्वाइस अफ टिमका उपनामले भित्र्याएका छन्। एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल गरी सातै प्रदेशका आठ टिम सहभागी छन्। पुस ६ सम्म चल्ने एनपीएल नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो। कुन टिममा को-को कलाकार छन् त?
महानायक राजेश हमाल
लुम्बिनी लायन्स टिमले राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। नेपाली फिल्म क्षेत्रमा कुनै समय एकछत्र राज गरेका अभिनेताका रुपमा राजेश हमाललाई महानायक मानिन्छ। फिल्म ‘युगदेखि युगसम्म’ चर्चामा आएका हमालले थुप्रै फिल्म खेलेका छन्। फिल्ममा बोलेका हमालका थुप्रै संवाद हिट छन्।
अभिनेत्री स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्काले टिम कर्णाली याक्सको समर्थन गरिरहेकी छन्। स्वस्तिमालाई टिमले ‘फेस अफ कर्णाली याक्स’मा अनुबन्धित गरेको हो। उनी नेपाली फिल्ममा अहिलेकी चर्चित अभिनेत्रीमा पर्छिन्। उनको अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ गत असोजमा प्रदर्शन भएको थियो। त्यस्तै स्वस्तिमाले ‘दिमाग खराब’, ‘चिसो मान्छे’, ‘बुलबुल’ फिल्मबाट आफूलाई भर्सटायल एक्ट्रेसको परिचय बनाएकी छन्। उनले ‘बुलबुल’ र ‘दिमाख खराब’ बाट दुईपटक उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिसकेकी छन्।
गायिका रचना रिमाल
पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले टिम विराटनगर किंग्सलाई समर्थन गरिरहेकी छन्। रचनालाई टिमले ‘फेस अफ विराटनगर किङ्स’ घोषणा गरेको थियो। गायिका रिमालको खेलप्रतिको उत्साहपनि उतिक्कै छ। उनी फुटबल, भलिबललगायत देश तथा विदेशमा भइरहेका खेलबारेमा सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन जनाइरहेकी हुन्छिन्। ‘फोटो फिरिममा’ गीतबाट चर्चित बनेकी रचनाका ‘उनको प्रीति’, ‘मिनिरल वाटर, ‘सुनन पियारी’, ‘रुमाल चिनो’लगायत दजनौँ गीत चर्चित छ।
अभिनेता दयाहाङ राई
विराटनगर किंग्सकै गुडविल एम्बेसडर बनेका छन् अभिनेता दयाहाङ राई। उनी पछिल्लो युवापुस्ताको रोजाइका पहिलो अभिनेता हुन्। मौलिक कथामा बनेको फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन्। नाटकमा अभिनय गर्दै फिल्ममा प्रवेश गरेका उनी अहिलेका व्यस्त अभिनेतामा पर्छन्।
र्यापर कुशल पोखरेल
विराटनगर किंग्सले र्यापर कुशल पोखरेललाई भ्वाइस अफ विराटनगरका रुपमा टिममा जोडेको छ। यो टिमको ‘लगा लगा’ बोलको गीत पनि कुशलले नै गाएका हुन्। गीतको शब्द कुशल लेखेका हुन्। कुशलको ‘पैसा’ बोलको र्याप गीत निकै चर्चित छ।
शृंखला खतिवडा
मिस नेपाल २०१८ शृंखला खतिवडाले एनपीएलको टिम काठमाडौँँ गुर्खाजलाई समर्थन गरिरहेकी छन्। फ्रेन्जाइज क्लब ‘काठमाडौँ गुर्खाज’को लगानीकर्तासमेत हुन् उनी। युवापुस्तामाझ लोकप्रिय खतिवडा सामाजिक सेवामा पनि सक्रिय छिन्।
सन्दीप क्षेत्री
पोखरा एभेन्जर्सलाई हास्य कलाकार सन्दीप क्षेत्रीले समर्थन गरिरहेका छन्। उनलाई टिमले ब्रान्ड एम्बेसडर बनाएको छ। ‘ह्वाट त फ्लप’ टेलभिजन कार्यक्रमबाट चर्चित बनेका सन्दीपले ‘छ एकान छ’, ‘तिम्रो मेरो साथ’, केही फिल्ममा अभिनय गरेका छन्।