एक वर्षमा १०४ पत्रकारको हत्या

हिमाल प्रेस २६ मंसिर २०८१ १३:२७
2
SHARE
एक वर्षमा १०४ पत्रकारको हत्या इजरायल र प्यालेस्टिनबीच भएको युद्धमा फसेका पत्रकार। तस्बिर : एएफपी/रासस

काठमाडौँ- सन् २०२४ मा १०४ जनाको हत्या भएको छ। इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्ट्स (आईएफजे) ले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कार्यस्थलमा खटिएका बेला उनीहरूको हत्या भएको हो। यसरी मारिनेमा १२ जना महिला छन्।

आईएफजेको प्रतिवेदनमा सबैभन्दा धेरै ६६ जना पत्रकार मध्यपूर्वमा मारिएका छन्। त्यसमा पनि गाजामा ५५ पत्रकार मारिएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी लेबनानमा ६ र सिरियामा १ जना पत्रकार मारिएका छन्।

२०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायल-प्यालेस्टाइन युद्धमा अहिलेसम्म १३८ पत्रकार ज्यान गएको प्रतिवेदनमा उल्लेख छ। यो तथ्यांकले गाजा आधुनिक पत्रकारिताको इतिहासमा सबैभन्दा खतरनाकमध्ये एक देखिएको छ। इराक, फिलिपिन्स र मेक्सिकोजस्ता देशसँगै प्यालेस्टिन पनि पत्रकारका लागि असुरक्षित देशको सूचीमा परेको छ। गाजा युद्ध सुरु हुनुअघि ल्याटिन अमेरिका, विशेषगरी मेक्सिको पत्रकारका लागि विश्वकै सबैभन्दा खतरनाक क्षेत्रहरूमध्ये एक थियो।

एसिया-प्रशान्त क्षेत्रमा २०२४ मा २० पत्रकार मारिएका छन्। दक्षिण एसियामा हिंसात्मक घटना वृद्धिका कारण पनि पत्रकारले ज्यान गुमाउनुपरेको प्रतिवेदनमा उल्लेख छ। पाकिस्तानमा ६, बंगलादेशमा ५ र भारतमा ३ पत्रकारहरूको हत्या भएको छ।

म्यानमारको सैनिक शासनले पत्रकारहरूलाई निसाना बनाउने क्रम जारी राखेको छ। म्यानमारमा यस वर्ष ३ पत्रकारको हत्या भएको छ। इन्डोनेसिया र कजाकस्तानमा पनि एक(एक पत्रकारको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। यस क्षेत्रमा सन् २०२३ मा १२ र २०२२ मा १६ पत्रकार मारिएका थिए।

सन् २०२४ मा २०२४ मा अफ्रिकामा ८ पत्रकारको हत्या भएको छ। अफ्रिकामा २०२२ मा ४ र २०२३ मा ९ पत्रकारको हत्या भएको थियो। यस वर्ष सबैभन्दा धेरै पत्रकार सुडानमा मारिएका छन्। सुडानमा विनाशकारी युद्धका कारण पाँच पत्रकारको ज्यान गएको छ। यसैगरी सोमालियाका दुई र चाडका एक पत्रकारले पनि जीवन गुमाएका छन्।

अमेरिकामा २०२४ मा ६ पत्रकारको हत्या भएको छ। यसमध्ये पाँच जना मेक्सिकन र एक जना कोलम्बियाली छन्। युक्रेन युद्धका कारण युरोपमा २०२४ मा ४ पत्रकारको हत्या भएको छ।

आईएफजेले ५२० पत्रकारहरू जेलमा रहेको तथ्यांक सार्वजनिक गरेको छ। १३५ पत्रकारलाई जेलमा राखिएका कारण चीन पत्रकारका लागि विश्वकै सबैभन्दा ठूलो जेल बनेको छ। यसपछि इजरायलमा ५९  र म्यानमारमा ४४ पत्रकार जेलमा छन्।

आईएफजेका महासचिव एन्थनी बेलान्जारले अधिकांश घटनामा द्वन्द्वरत पक्षले जानेबुझेर पत्रकारको ज्यान लिएको बताएका छन्। केही पत्रकार भने आफ्नै गल्तीले युद्धमा फस्दा ज्यान गुमाउन बाध्य भएको उनले बताए। उनले यस्ता तथ्यांकबाट विश्वमा प्रेस स्वतन्त्रता कमजोर र पत्रकारिता पेसा जोखिमपूर्ण रहँदै गएको देखिएको बताए।

उनले भने, ‘विश्वभर अधिनायकवादी शासन विकसित हुँदैछन्। त्यस्तो अवस्थामा आम जनताको सूचना आवश्यकताको महत्त्व झनै वास्तविक बनेको छ। हाम्रो पेसाबाट अझ बढी सतर्कता आवश्यक छ।’ उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई पत्रकारहरूको सुरक्षासम्बन्धी बाध्यकारी अभिसन्धि अपनाउनका लागि कदम चाल्न आग्रह गरेका छन्।

प्रकाशित: २६ मंसिर २०८१ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast