काठमाडौँ- सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले स्केच पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेका हुन्।
पोस्टरमा कलाकार आशीर्वाद क्षेत्री, लक्ष्मी गिरीलगायत कलाकारलाई स्केजमा देख्न सकिन्छ। साथै घर, मन्दिर, धुलाइएको फोटो, मोटरसाइकलमा गइरहेका दुई मानिसलगायत यत्रतत्र अरुपनि देख्न सकिन्छ।
टिमले पोस्टरमा स्केज कलालाई प्राथमिकता दिएर केही फरक प्रयास गरेका छन्। बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ। पोस्टरअनुसार फिल्मले ग्रामीण परिवेशको कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ।
फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारको अभिनय छ।
निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए। उनले निर्देशन गरेका दुवै सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।
पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने निर्देशक सिंहको विश्वास छ। निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको सिनेमालाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्।
टिमका अनुसार फिल्मको छायांकन सकिसकेको छ। यतिबेला फिल्मको पोष्ट प्रोडक्सनको काम भइरहेको छ। फिल्म सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्।
मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ। फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो।