ओलीको चीन भ्रमण सफल भएको एमाले सचिवालय बैठकको निष्कर्ष

हिमाल प्रेस २५ मंसिर २०८१ २०:११
12
SHARES
ओलीको चीन भ्रमण सफल भएको एमाले सचिवालय बैठकको निष्कर्ष एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ।

पार्टी कार्यालयमा मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको दीर्घकालीन विकासमा सहयोग पुग्ने गरी सम्झौता र सहमति भएको भन्दै भ्रमण सफल रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बीआरआईका विषयमा भएका समझदारी निकै महत्त्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए।

त्यस्तै सचिवालय बैठकले स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै समग्रतामा थप उपलब्धि हासिल गरेको निष्कर्षसमेत निकालेको उनले जानकारी दिए। काठमाडौं–१६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए। बैठकले सहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै सचिवालय बैठकले सामाजिक सञ्जालहरूको दुरुपयोग गर्दै गलत सूचनाको माध्यमबाट राजनीतिक दल, नेता र प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने प्रवृति उचित नभएको भन्दै गलत कुराको खण्डन र सही विचारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए।

त्यस्तै ज्ञवालीले बीआरआई आफैँमा परियोजना नभएको र यसअन्तर्गत विभिन्न परियोजना सञ्चालन हुने भएकाले बीआरआई अवधारणामा नै ऋण वा अनुदानको विषय जोड्नु गलत भएको बताए। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो पटक दिएका अभिव्यक्तिहरू गैरजिम्मेवार रहेकोबताए।

रास्वपा सभापति रवि लामिछाने पक्राउका विषयमा प्रचण्डले गरेका टिप्पणीहरू अनुसन्धानलाई नै प्रभावित पार्ने प्रकारको रहेको उनको भनाइ छ। ज्ञवालीले राजावादीहरुसँग प्रचण्डले हात मिलाउन खोज्नु राजनीतिक विचलन भएको टिप्पणी गरे।

प्रकाशित: २५ मंसिर २०८१ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast