जापानी भाषा परीक्षाको पारदर्शितामा प्रश्न

रमेश भारती २५ मंसिर २०८१ १७:०१
38
SHARES
जापानी भाषा परीक्षाको पारदर्शितामा प्रश्न

काठमाडौँ- कामदारका रूपमा जापान जानका लागि लिइने भाषा परीक्षाको पारदर्शितामाथि प्रश्न उठेको छ। जाइका अलुमनाई एसोसिएसन (जान) ले म्यानपावरमार्फत जापान जाने कामदारको भाषा परीक्षा लिँदै आएको छ। पछिल्लो समय जानले लिइरहेको भाषा परीक्षाको पारदार्शिताका विषयमा परीक्षार्थीले प्रश्न उठाउन थालेको म्यानपावर व्यवसायीले बताएका छन्।

वैदेशिक रोजगार विभागका अधिकारीहरूका अनुसार परीक्षार्थी पाँच पटकसम्म फेल हुने गरेको पाइएको छ। सरकारले १४ वर्षअघिदेखि जापान जाने कामदारका लागि भाषा परिक्षा सञ्चालन गर्ने अनुमति जानलाई दिएको थियो। जानले पाँचौँ तहको भाषा परीक्षा लिँदै आएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले जानले लिइरहेको भाषा परीक्षाको पारदर्शिताका विषयमा परीक्षार्थीले प्रश्न उठाउने गरेको बताए। भुर्तेलले भने, ‘जापान जाने कामदारको संख्या बढ्दो छ। भाषा परीक्षामा फेल हुँदा भिसा लागेका कामदार पनि रोकिँदै आएका छन्। भाषा परीक्षाको पारदर्शिताका विषयमा परीक्षार्थीले गुनासो गर्दै आएका छन्।’

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पनि जापानी भाषा परीक्षामा सहभागी भएका परीक्षार्थी पटक-पटक फेल भएको गुनासो म्यानपावर कम्पनीले गर्दै आएको बताए। सुवेदीका अनुसार जानले परीक्षार्थीकै कमजोरीका कारण फेल हुने गरेको दाबी गर्दै आएको छ। ‘जापानी भाषामा परीक्षार्थी पटक-पटक फेल भएको विषयमा जानसँग छलफल भइरहेको छ। यो समस्या चाँडै समाधान हुन्छ’, उनले भने।

जापानी भाषा परीक्षाका लागि जानलाई एकपटकमा ३ हजार २ सय रुपैयाँ तिर्नुपर्छ। जापानी भाषा परीक्षामा मासिक दुई सयभन्दा बढी नेपाली सहभागी हुने गरेको विभागले जनाएको छ। यसरी लिने परीक्षामा एकपटकमा ६० प्रतिशत उत्तीर्ण हुन्छन्। बाँकी ४० प्रतिशत परीक्षार्थी फेल हुने गरेको म्यानपावर व्यवसायी बताउँछन्।

जापानबाट सीओई आएर भिसा जारी भइसकेपछि एक पटक फेल भएका परीक्षार्थीले १५ दिनसम्म परीक्षाका लागि कुर्नुपर्ने बाध्यता छ। जापानको नियममा यस्तो व्यवस्था छैन। फेल भएको अवस्थामा तीन दिनभित्र फेरि परीक्षामा सहभागी हुन पाइन्छ। भिसा आएको तीन महिनाभित्र जापान पुग्नुपर्छ। भिसा आए पनि म्यानपावर कम्पनीमार्फत जापान जानुअघि पाँचौँ तहको जापनिज भाषा अनिवार्य पास भएको हुनुपर्छ।

जानले फेल भएको परीक्षार्थीलाई दुई साताअघि परीक्षामा सहभागी हुन नदिने गरेको म्यानपावर कम्पनीको गुनासो छ। जानका अध्यक्ष रामचन्द्र भुसाल भने सरकारी मापदण्डअनुसार परीक्षा लिँदै आएकाले कुनै समस्या नरहेको बताए। उनले भने, ‘जानले जानी-जानी कुनै पनि परीक्षार्थीलाई भाषा परीक्षा फेल गराउँदैन। हामीसँग दक्ष भाषा शिक्षक छन्। उनीहरुले पारदर्शी र सरकारी मापदण्डभित्र रहेर पढाउँदै र परीक्षा लिँदै आएका छन्’, उनले भने। फेल भएका परीक्षार्थीले एउटै शुल्कमा परीक्षा दिन सक्ने उनी बताउँछन्।

म्यानपावर व्यवसायीले जानको परीक्षा सञ्चालन पारदर्शी नभएको भन्दै अन्य संस्थालाई पनि जापनिज भाषा परीक्षा सञ्चालन गर्ने अनुमति लिनुपर्ने माग गर्दै आएको विभागका अधिकारी बताउँछन्। हाल म्यानपावर र व्यक्तिगत भिसामा मासिक तीन सयभन्दा बढी नेपाली जापान जाने गरेका छन्।

नेपालले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन जापानसँग आग्रह गरेको थियो। जापान सरकारले अहिलेसम्म भाषा परीक्षाको सम्भावित कोर्स दिएको छैन। व्यवसायीहरू जानको औचित्य नरहेको बताउँछन्। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव भुर्तेलले भने, ‘सरकारले यो संस्था बन्द गरे राम्रो हुन्छ। जानका कारण कतिपय भिसा लागेका नेपाली कामदार जापान  उड्न पाएका छैन।’

प्रकाशित: २५ मंसिर २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast