शिक्षा मन्त्रालयमै भेटिएनन् कर्मचारी, ‘अनि कहाँबाट देशको विकास हुन्छ?’

रमेश दवाडी २५ मंसिर २०८१ १६:०३
528
SHARES
शिक्षा मन्त्रालयमै भेटिएनन् कर्मचारी, ‘अनि कहाँबाट देशको विकास हुन्छ?’ शिक्षा मन्त्रालयमा मंगलबार बिहान पुगेका प्युठानका विकास नेपाली। तस्बिर : हिमालप्रेस

काठमाडौँ– ‘देशको प्रमुख प्रशासकीय स्थल सिंहदरबारभित्र रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ११ बजिसक्दा पनि कर्मचारी छैनन्। शाखा, महाशाखामा सुनसान छन्। कामविशेषले मन्त्रालय आएका सेवाग्राही त्यत्तिकै फर्किइरहेका छन्।’ यो भनाइ हो प्युठानका विकाश नेपालीको। उनले विगत तीनदेखि सिंहदरबारमा यस्तै भोग्दै आएका थिए। मंगलबार शिक्षा मन्त्रालयमा भटिएका उनले १० देखि १२ बजेसम्म कर्मचारीलाई कुर्सीमा नभेटिने बताए।

मंगलबार मन्त्रालयका अधिकांश शाखा–महाशाखा सुनसान थिए। शिक्षामन्त्री विद्या भट्टराईको कार्यकक्षमा केही महिला कर्मचारी घामतर्फ ढाड फर्काएर मोबाइल खेलाइरहेका थिए।

विकाश नेपाली शारीरिक अपांग छन्। सरुवासम्बन्धी काम लिएर तीन दिनदेखि मन्त्रालय धाइरहेको उनले बताए। उनी २० दिनअगाडि काठमाडौँ आएका हुन्। विकाश प्युठान नगरपालिकाअन्तर्गतको एक सामुदायिक विद्यालयमा राहत कोटाका शिक्षक हुन्।

उनले भने, ‘हिजो मन्त्रीको पीएसँग भेट भयो। शिक्षामन्त्रीसँग भेट हुन पाएन। आज बोलाएका थिए, यतिबेलासम्म कोही आएका छैनन्।’ उनी अपांगता भएका शिक्षकलाई दिइने सुविधाअन्तर्गत काठमाडौँ सरुवा हुन खोजेका हुन्। १७ वर्ष शिक्षण सेवामा बिताइसका उनले प्रतिनिधिसभाका सांसद सूर्य थापाको पहलमा काठमाडौँ सरुवा हुन खोजेको बताए। उनलाई जनप्रतिनिधिमार्फत आउँदा छिटो काम बन्ने विश्वास रहेछ। उनले भने, ‘मन्त्रालयमा आएर फोन गर्दा थापाले आफू त कोटेश्वरमा पो छु भन्नुभयो।’

मन्त्रालयका कोठा सुनसान देखेपछि शिक्षक नेपाली अचम्मित भए। उनले हाँस्दै भने, ‘यहाँ त कर्मचारी भन्ने त एकरत्ति पनि छैन। मन्त्रालयमा त यस्तो हुन्छ। बाहिर झन् के होला? अनि कहाँबाट देशको विकाश हुन्छ।’

उनले कर्मचारी कसैको मोबाइल स्विच अफ रहेको र कोही कार्यकक्षमा नरहेको बताए। ‘भोलि ११ बजे आउनुहोस् भनेर बोलाएका थिए। कोही छैनन्। प्रत्येक कोठा रित्ता छन्,’ उनले भने।

प्रकाशित: २५ मंसिर २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast