
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ।
जारी प्रतियोगितामा ४ खेलबाट ३ जितसहित चितवन ६ अंक लिएर तालिको तेस्रो स्थानमा छ। यता ४ खेल नै गुमाएको लुम्बिनी अंकविहीन रहँदै तालिकाको अन्तिममा छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ। यो टिम चारवटै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।
लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो। प्लेअपको सम्भावना कायमै राख्न पनि लुम्बिनी आजको खेल जित्नैपर्ने दबाबमा छ।
चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एकमा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।