
काठमाडौँ- राष्ट्रिय मानवअधिकर आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको आरोपका सन्दर्भमा अनुसन्धान प्रारम्भ गरेको छ।
लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा अमानवीय व्यवहार भएको उजुरीका सन्दर्भमा आयोगले अनुसन्धान सुरू गरेको हो।
रास्वपा सभापति लामिछानेलाई चितवनबाट कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको भन्दै छानबिन गर्न माग गर्दै आयोगमा उजुरी परेको थियो।
घटनाका सन्दर्भमा आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका प्रहरीका उच्च अधिकारीहरूसँग सोमबार जानकारी लिएको छ।
आयोगले उनीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर घटनाबारे जानकारी लिएको हो। प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताएका थिए।
यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत सोधपुछ गरिने आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिएका छन्।