काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका १५ खेल सकिँदा विभिन्न कीर्तिमान बनेका छन्। कुनै टोली हालसम्म अपराजित छन् भने कुनै जितविहीन छन्। हालसम्म जनकपुर बोल्ट्स सबैभन्दा माथि छ भने लुम्बिनी लायन्स सबैभन्दा तल छ।
यसो त जनकपुर अपराजित छ। लुम्बिनीले एउटा पनि खेल जितेको छैन। एनपीएलमा जनकपुरले ८ अंक बनाएर शीर्षमा छ। समान ६ अंकका साथ सुदूरपश्चिम र चितवन दोस्रो स्थानमा रहँदा कर्णाली याक्स ४ अंकका साथ तेस्रो स्थानमा छ।
सर्वाधिक रन बनाउने खेलाडी रोहित
एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल छन्। रोहितले ४ खेलको ४ इनिङमा कुल १ सय ८१ रन प्रहार गर्दै सर्वाधिक रन बनाएका हुन्। उनले ४५.२५ को औसतमा रन प्रहार गरिरहेका छन्।
उनको व्यक्तिगत उच्च स्कोरका रूपमा पोखराविरुद्धको ९५ रन रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए। उनको उच्च स्कोरमा टिमले १ सय ७० रन बनाए पनि १० विकेटले हारेको थियो। सर्वाधिक व्यक्तिगत उच्च रन बनाएर खेलिरहेका कप्तान रोहित टिमलाई जित दिलाउन भने असफल छन्।
लुम्बिनी लायन्सले खेलेका सबै ४ खेल गुमाएको छ। सर्वाधिक रन बनाउने शीर्ष स्थानमा रोहित रहँदा उनलाई जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले पछ्याइरहेका छन्। मिल्नथाले ४ इनिङमा ५६ को औसतमा १ सय ६८ रन बनाएका छन्।
तनवीरका नाममा सर्वाधिक विकेट
१५ खेल सकिँदा ४ खेल खेलेका चितवन राइनोजका सोहेल तनवीर सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ८६ बल सामना गरेर ६७ रन खर्चिँदै ४.६७ को इकोनोमीमा कुल ९ विकेट हात पारेका छन्। उनको सर्वाधिक बेस्ट भनेको काठमाडौँविरुद्ध आफ्नो पहिलो खेलमै २१ रन दिएर ५ विकेट लिनु हो।
त्यस्तै दोस्रो नम्बरमा जनकपुर बोल्ट्सका ललित राजवंशी छन्। उनले तेस्रो नम्बरमा रहेका आफ्नै टिमका हर्ष थकरलाई समान ८ विकेट भए पनि इकोनोमीमा पछि पारेका छन्। ललितले ९६ बल खेल्दै ८८ रन खर्चिएर ५.५० को औषतमा ८ विकेट लिएका छन्।
एकमात्र शतक गौसका नाममा, १६ खेलाडीले प्रहार गरे अर्धशतक
एनपीएलमा पोखराका आन्द्रेस गौसका नाममा रहेको छ। उनले लुम्बिनीविरुद्ध १ सय ४ रनको अविजित शतक प्रहार गरेका थिए, जुन एनपीएलको एक्लो शतक हो। एनपीएलको १५ खेलको समाप्तिमा कुल १६ खेलाडीले अर्धशतक बनाएका छन्। जसमा रभि बोपराले २ अर्धशतक प्रहार गरेका छन्।
कर्णालीका विलियम बोसिस्टो, पोखराका आन्द्रेस गौस, पोखराकै दिनेश खरेल, चितवनका हसन एइसाखिल, लुम्बिनीका रोहित पौडेल, विवेक यादव, सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमका ब्रान्डम म्याकमुलन, सुदूरपश्चिमकै साइफ जैब, कर्णालीका शिखर धवन, विराटनगरका मार्टिन गुप्टिल, विराटनगरकै लोकेश बम, जनकपुरका लाहिरु मिलन्था र जनकपुरकै अनिल साहाले समान १-१ अर्धशतक प्रहार गरेका छन्।