
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ। यसै साता प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बीआरआईमा सम्झौता गरेका छन्। कांग्रेसले बीआरआईमा ऋणमा सम्झौता गर्न नसकिने अडान लिएका थिए। तर ओली भने ऋणमै भए पनि सम्झौता गर्ने तयारीमा थिए। अहिले यसबारे कुन मापदण्डका आधारमा सम्झौता गरियो खुलाइएको छैन। यसैकारण देउवा–ओलीबीच मतभेद बढेको अनुमान छ।
सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ । बीआरईबारे कांग्रेसभित्र मतभेद रहँदै आएको छ ।