संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे

हिमाल प्रेस २३ मंसिर २०८१ १७:३५
4
SHARES
संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे फाइल तस्बिर।

काठमाडौँ– सभामुख देवराज घिमिरेले संघीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन्।

संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आइतबार सिंहदरबारमा आयोजना गरेको ‘संघीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।

उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढंगले कानुनी व्यवस्था गरेर जानुपर्ने बताए।

‘संघीय संसद्लाई प्रभावकारी हामी सबैले आ–आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ,’ घिमिरेले भने, ‘कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ।’

संघीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्गनिर्देश गर्न सकेका अवस्थामा दिवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ छ।

सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवासुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। ‘छुट्टै सेवाको आवश्यकता परेकाले ऐनको व्यवस्था भएर सोही अनुरूप संसद् सञ्चालन भइरहेको छ। अठार वर्षको सेवाको समीक्षा गरौँ, तुलनात्मक रूपमा प्रगति भएको पाउने छौँ,’ उनले भने, ‘संसदीय अभ्यास र हामीले गरेका उपलब्धि अरु मुलुकको तुलनामा भन्दा पनि नेपालको विगतको तुलनामा हेरिनुपर्छ।’

सभामुख घिमिरेले राज्यका प्रमुख तीन शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए।

‘कार्यपालिका र व्यवस्थापिकाबीचमा प्रभावकारी समन्वय जरुरी छ,’ उनले भने, ‘कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिका विरुद्ध जानखोज्ने प्रवृत्तिले संसद्को काम कारबाही र संसदीय सेवालाई प्रभावकारी बनाउन सक्दैन, त्यसैले यो विषयलाई बहस र छलफल गरेर टुङ्ग्याइनुपर्छ।’

सभामुख घिमिरेले संघीय संसद्को कार्यक्षेत्रलाई प्रदेशस्तरमा विस्तार गर्न पनि बहस पैरवी जरुरी रहेको उल्लेख गरे।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्लाई प्रभावकारी बनाउन सबैको सामूहिक प्रयत्न आवश्यक पर्ने बताए। उनले भने, ‘संसद्को प्रभावकारिता संसद्ले गरेका निर्णयका आधारमा भरपर्छन्। निर्णयलाई व्यवहारिक कार्यान्वयनमा लैजान सकेमात्रै संसद्को प्रभावकारिता बढ्छ र यो कार्य सामूहिक प्रयत्नबाट सम्भव छ।’

अध्यक्ष दाहालले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन कानुन बनार अगाडि बढ्नुपर्ने धारणा राखे। संसद् र कर्मचारीबीचको प्रभावकारी समन्वय र विश्वास कायम गरेर सुशासन प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने जरुरी रहेको उनले उल्लेख गरे।

उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताइन्। उनले संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउन सांसद् र कर्मचारीबीच सहकार्य र समन्वय आवश्यक पर्ने भन्दै सबैको भूमिका उल्लेख्य हुनुपर्नेमा जोड दिइन्।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद् सेवा विशिष्टिकृत सेवा भएकाले यसलाई प्रभावकारी बनाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिइन्। संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले संघीय संसद्को प्रभावकारिताका लागि सांसद् र सचिवालयले समयसापेक्षा रूपमा प्रभावकारी काम गर्नुपर्ने बताए।

‘संसद्को प्रभावकारिताका अभिवृद्धिका लागि सचिवालयले प्रभावकारी सेवा दिनुपर्छ, जनशक्ति थपेर सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित: २३ मंसिर २०८१ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast