
काठमाडौँ- सन् २००० मा पिता हफेज अल असदको मृत्युपछि राष्ट्रपति बनेर बसर अल असद सिरियाको सत्तामा आएका थिए। सत्तामा आएदेखि नै उनीविरूद्ध सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थाले। असदका पिता हफेजले सिरियामा तीन दशक शासन गरेका थिए।
सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरेर असदलाई राष्ट्रपति बन्ने मार्गप्रशस्त गरेको थियो। पिताको मृत्युलगत्तै उनलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो। हाफिज अल असद सन् १९७० मा सत्ता कब्जा गर्दै अर्को वर्ष सिरियाका राष्ट्रपति बनेका थिए। हाफिज तीन दशकसम्म सिरियामा शासन गर्ने सोभियत समर्थक नेता थिए।
सन् २००० सेप्टेम्बरमा सय जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य, थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए। यसलाई ‘दमास्कस वसन्त’ भनिन्छ। असदको सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो। सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो।
प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् र आफ्ना सेना फिर्ता गर्न आह्वान गर्छन्। दमास्कसले भने यसलाई अस्वीकार गर्दै आएको छ।
त्यही वर्ष अप्रिलमा सिरियाली सेनाको २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै दसौँ हजार सिरियाली सेना लेबनानबाट बाहिरिएका थिए। सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए र लोकतान्त्रिक परिवर्तनका लागि आह्वान गरे। विपक्षी पार्टीहरूले बसरको ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को आलोचना गरे।
तत्कालीन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धजीवीमाथि व्यापक दमन गरेको थियो। सरकारका तर्फबाट भएको दमनपछि प्रजातन्त्रका लागि भएको आन्दोलनमा थप ऊर्जा मिलेको थियो। सन् २००५ को दमनपछि देशव्यापीरूपमा थप व्यक्तिहरू बसरको विरोधमा संगठित भएका थिए।
सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भएको थियो। उनीहरू थप संगठित बन्दै सन् २०११ मार्चमा ‘अरब वसन्त’ नाम दिइएको सशक्त आन्दोलनको घोषणा गरे। यसले सिरियामा नागरिक स्तन्त्रता र राजनीतिक कैदीहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन सुरु गरेको थियो भने प्रशासनले आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको थियो।
सन् २०११ मार्चमा बसर प्रशासनले ‘आतंककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपूर्ण कारबाही सुरु गर्यो जुन तत्कालीन सरकारका लागि अभिसाप नै सावित हुन पुग्यो। आन्दोलनले सरकारविरोधी प्रदर्शनबाट सशस्त्र विद्रोहको स्वरूप लिन पुग्यो र सिरियामा गृहयुद्ध सुरु भयो। युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि सामेल भए। साथै जिहादीहरूको पनि संलग्नता रह्यो।
सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत हतियार प्रयोग गरेको थियो। यसलाई धेरै पटक रासयानिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ। तर बसर प्रशासनले यो आरोपको पटकपटक खण्डन गरेको छ।
रूस र इरान तेहरान समर्थित लेबनानी सिया लडाकु समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका साथ नेता बसरलाई सत्तामा टिकाइरह्यो। लामो समयसम्म चलेको युद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाएपछि र झण्डै आधा जनसंख्या विस्थापित भएपछि सन् २०२० को मार्चमा रूस र टर्कीबीच भएको सम्झौतापछि युद्धविराको घोषणा गरिएको थियो।
युद्धविराम भए पनि सिरियामा बमबारी र छिटपुट जिहादी आक्रमणले भने निरन्तरता पाइरहे। विपक्षीहरूको तीव्र विरोध र विपक्षी दलहरूको निर्वाचन बहिष्कारका बीच सन् २०२१ मे २६ मा गरिएको निर्वाचनमा बसर ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भए।
सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरूप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो। तर सन् २०२३ को मे महिनामा रूस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो। सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको भन्दै फ्रान्सले सन् २०२३ को नोभेम्बरमा बसरविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो।
त्यसको अर्को दिन संयुक्त राष्ट्रसंघको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर व्यवहार अन्त्य गर्न आदेश दिएको थियो। नोभेम्बर २७ मा इस्लामिक समूह हयात तहरीर अल–साम (एचटीएस) ले विद्रोही आक्रमणको नेतृत्व गरेको थियो।
युद्धमा पहिलोपटक बसरको सेनाबाट दोस्रो ठूलो सहर अलेप्पोको नियन्त्रण खोसेको थियो। विद्रोहीहरू आइतबार राजधानी दमास्कस आइपुगेको घोषणा गर्नुअघि हामा र होम्सजस्ता अन्य प्रमुख सहररूमाथि कब्जा जमाइसकेका छन्। विद्रोहीहरूले सिरियामा बसरको शासन अन्त्य भएर स्वतन्त्रता आएको घोषणा गरेका छन्। विद्रोहीहरूले दमास्कसमाथि कब्जा गरेपछि राष्ट्रपति बसर देश छोडेर भागेको बताइएको छ।
कठोर शासक बसर अल असद पाँच दशकभन्दा लामो समयदेखि सत्ता सम्हालेको अधिनायकवादी परिवारको दोस्रो पुस्ताका सदस्य हुन्। असदको शासन क्रूर मानिन्छ। सन् २०११ देखि सुरु भएको गृहयुद्धले सिरियालाई तहसनहस बनाएको छ। यसले देशमा चरमपन्थी समूह आईएसआईएसको जन्म भयो। अन्तर्राष्ट्रिय शक्ति सन्तुलन युद्धको केन्द्र बन्यो।
गृहयुद्धको सुरुवात असदको शासनले प्रजातन्त्र समर्थक जनआन्दोलनलाई बेवास्ता गरेपछि भएको थियो। सरकारको दमनात्मक कदमले हजारौँ मानिसको ज्यान गएको थियो।
त्यसयता असदका सेना मानवअधिकार उल्लंघन र सर्वसाधारणमाथि क्रूरतापूर्ण आक्रमण गरेको आरोप खेपिरहेका छन्। उनीमाथि आफ्नै जनताविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप पनि छ। युद्ध सुरु हुँदा अमेरिका, जोर्डन, टर्की र युरोपेली संघले असदलाई पद त्याग्न आग्रह गरेका थिए। पश्चिमी प्रतिबन्ध र अन्तर्राष्ट्रिय असहयोग भए पनि रुस र इरानजस्ता शक्तिशाली सहयोगीहरूको समर्थनका कारण असदको शासन टिकिरहेको थियो।
मध्यपूर्व इन्स्टिच्युटका वरिष्ठ फेलो फिरास मकसादले सिरियाली विद्रोहीले दमास्कस कब्जा गरी राष्ट्रपति बसर अल असदलाई सत्ता च्युत गरेको घटना मध्यपूर्वका लागि ‘ऐतिहासिक क्षण’ संज्ञा दिएका छन्। ‘यो सिरियाली जनताका लागि होइन मध्यपूर्वका लेबनानी, प्यालेस्टिनी, सिरियाली वा अन्य मानिसका लागि पनि ऐतिहासिक क्षण हो’, उनले अमेरिकी टेलिभिजन च्यानल सीएनएनसँग भने।
बाथ पार्टीको शासनले पाँच दशकभन्दा बढी समयसम्म स्वतन्त्रता, एकता, र समाजवादको नारा दिएर सिरियामा लाखौँ मानिसलाई उत्पीडन, यातना र बेपत्ता बनाएको मकसादले बताए। उनले भने, ‘मानवीय हिसाबले यो धेरैका लागि खुसीको क्षण हो भन्ने कुरामा कुनै शंका छैन तर धार्मिक अल्पसंख्यकका लागि संम्वित जोखिमको क्षण पनि हो।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा