
सुर्खेत- कर्णाली प्रदेशमा सरकारी भवन निर्माणको गति सुस्त देखिएको छ। समयमै भवन निर्माण गर्न नसकेको भनेर ठेकेदारको आलोचना हुन थालेको छ। सुर्खेतको मेहलकुना अस्पताल भवन २४ महिनाभित्र सम्पन्न गर्ने गरी २०७४ पुस २५ गते एमके लोहनी एसके जेभीले २१ करोड ७९ लाख ४१ हजार ७६५ रुपयाँमा ठेक्का लिएको थियो। ७ वर्षसम्म पनि भवन निर्माण सम्पन्न भएको छैन। पाँच पटक म्याद थप गर्दा ७५ प्रतिशतमात्र काम सकिएको छ।
अलवचिङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन १८ महिनामा सन्पन्न गर्ने गरी २०७८ जेठ ६ गते क्याराभान केआर जेभी काठमाडौँले ३ करोड ६२ लाख ९ हजार ९ सय ५१ रुपैयाँमा ठेक्का लिएको थियो। तोकिएको समयमा भवन नबनेपछि तीन पटक म्याद गर्दा पनि निर्माण सम्पन्न भएको छैन।
प्रदेश आयुर्वेद अस्पतालको भवन १८ महिनामा सक्ने गरी २०७८ मा जगदम्बा कौसिल सुपरस्टार जेभीले ९ करोड ७१ लाख ९५ हजार ४८४ रुपैयाँमा ठेक्का लिएको थियो। तीन पटक म्याद थप गर्दा अहिलेसम्म ३४ प्रतिशत काम सकिएको छ।
८ करोड ७१ लाख ५४ हजार २१३ रुपैयाँमा २०७८ मा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको ठेक्का लिएको नागार्जुन बगलामुखी जेभीले ७० प्रतिशत काम पूरा गरेको छ।
सरकारले निर्माण व्यवसायीलाई तोकिएकै समयमा काम गराउन पहल नगर्दा कर्णालीका दर्जन बढी भवन वर्षौँदेखि अधुरै छन्। संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका कार्यालय प्रमुख कमल दर्लामीले म्याद थपिएको अवधिसम्म निर्माण सम्पन्न गराउन पहल गर्दै आएको बताए।
दर्लामीका अनुसार निर्माण व्यवसायी जिम्मेवार नहुँदा समयमै भवन निर्माण हुन नसकेको हो। समयमै निर्माण सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा परेको छ।
निर्माण व्यवसायी भने सरकारकै कमजोरीका कारण भवन निर्माण सम्पन्न हुन नसकेको बताउँछन्। नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका महासचिव खगेन्द्रविक्रम रानाले बहुवर्षीय आयोजनामा पर्याप्त बजेट विनियोजन नगर्ने, समयमै म्याद थप गर्ने र डिजाइनमै गरिने गल्तीका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको दाबी गरे।
स्थानीय निर्माण सामग्रीको व्यवस्था समयमै नहुनु, म्याद थप नहुनुले काम गर्न समस्या भएको उनी बताउँछन्। बहुवर्षीय आयोजनामा पहिलो वर्ष बजेट आउने तर दोस्रो वर्षमा पर्याप्त बजेट नआएकाले काम गर्न कठिन हुने गरेको उनको भनाइ छ। यसैगरी अन्यत्रबाट आएका निर्माण व्यवसायीले ठेक्का लिने भएकाले पनि समयमा काम पूरा हुन नकसको दर्लामीले बताए।