
काठमाडौँ- तेस्रो जितको लक्ष्यमा रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम् रोयल्सविरुद्ध १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले हसन इसाखिलको अर्धशतकीय पारीप्रेरित २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको हो।
चितवनका लागि ओपनर इसाखिलले ५२ बलमा ६ चौका र तीन छक्कासहित ६५ रनको योगदान गरे। त्यस्तै मध्यक्रमका ब्याटर रवी बोपाराले १८ बलमा समान दुई चौका र छक्कासहित ३६ रनको योगदान गर्दा तेस्रो नम्बरका ब्याटर विपीन रावलले १७ र कप्तान कुशल मल्लले १३ रनको योगदान गरे। ओपनर सन्तोष कार्की र मध्यक्रमका ब्याटर लोफ्टी इटनले दोहोरो अंकमा रन बनाउन सकेनन्। अमर रौटेला ६ रनमा अविजित रहे।
चितवनले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा एक विकेट गुमाएर ३५ रन जोडेको थियो। सन्तोष कार्कीलाई ९ रन बनाएर पेभिलियन फर्किएका थिए। चौथो ओभरको पहिलो बलमा सन्तोष ब्रेन्डन म्याकमुलनको बलमा नरेश बुढाऐरबाट क्याच भए। त्यसपछि आएका विपीनले ओपनर इसाखिलसँग मिलेर अर्धशतकीय साझेदारी गरे। अर्धशतकीय साझेदारी पूरा गरे लगत्तै विपीन जैबको बलमा कुगुलेइनबाट क्याच हुँदै पेभिलियन फर्किए।
चितवनले तेस्रो विकेटका रुपमा इसाखिललाई गुमायो। इसाखिल १६औं ओभरको पहिलो बलमा कुगेलेइ्रनको बलमा नरेश बुढाऐरबाट क्याच भए। त्यसपछि सुदूरपश्चिम्ले १८औं ओभरको दोस्रो बलमा कुशल र अन्तिम ओभरको तेस्रो बलमा बोपारालाई गुमायो। कुशल कुगुलेइनबाट बोल्ड हुँदा बोपारा दीपेन्द्रसिंह ऐरिको बलमा नरेशबाट क्याच भए।