
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान टस हारेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो।
जनकपुरले सुरुवातमा आक्रामक रन बनाए पनि मध्यम तथा अन्त्यतिर लुम्बिनीले बलिङ सुधार्दा मध्यम लक्ष्यमा समेट्न सफल भयो।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए । अर्धशतकका लागि ५ रनले चुकेका अनिल सन्दीप जोराको बलमा विवेक यादवबाट समातिए। लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए। यसै खेलमा डेब्यु गरिरहेका अभिषेस गौतमको बलमा उनी आउट भए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन बनाए।
मिलन्था आउट भए लगत्तै दुई बलमा पछि अभिषेसले नै हर्ष ठाकरलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिषेसले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट गराए।
अभिषेसले १३औं ओभरमा लुम्बिनीका लागि महत्वपुर्ण तिन सफलता दिलाउदै टोलीलाई खेलमा फर्काए। १६औं ओभरको दोस्रे बलमा विदेशी खेलाडी मोहसिन खानलाई कप्तान रोहितकुमार पौडेलले एलबीडब्लू धरापमा पारे। मोहसिन आउट भएपछि क्रिजमा आएका शेर मल्ल त्यसको २ बलपछि रोहितको एलबिडब्लु धरापमा नै परे।
पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै साद विन जाफरको बलमा विवेक यादवबाट क्याच आउट भए । लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेस गौतमले ४ ओभरमा २० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिए । कप्तान रोहित र साद विन जाफरले समान २ तथा सन्दीप जोराले १ विकेट लिए।
लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
जनकपुर लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहान्छ। जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो।
आजकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन्।