
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरूद्ध पोखरा एभेन्जर्सले सहज जित निकालेको छ। शुक्रबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरूद्ध १० विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रनको योगफल खडा गरेको थियो।
पोखराले एन्ड्रीस गाउजको सतकीय इनिङको मद्तले १६.५ ओभरमा विनाविकेट गुमाई १७१ रनको लक्ष्य पूरा गर्यो। गाउजले अविजित १०४ रन बनाए। जारी प्रतियोगितामा यो पहिलो सतक हो।
५५ बलको सामना गरेका उनले १२ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै दिनेश खरेलले ४६ बलमा ६१ रन बनाए। उनले चार चौका र चार छक्का प्रहार गरे।
यसअघि ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङको मद्तले १७० रन बनाएको थियो। ५९ बलको सामना गरेका उनले १० चौका र ४ छक्काको मद्तले ९५ रन बनाएका थिए।
त्यस्तै टौम मुर्सले ३८ बलमा ४५ रन बनाए। यी दुईबाहेक लुम्बनीका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। पोखराका लागि विपिन कार्कीले २ र माट क्रिसलेले १ विकेट लिए।
प्रतियोगितामा लुम्बनीको यो लगातार दोस्रो हार हो। अहिलेसम्म दुई म्याच खेलेको लुम्बिनीले दुवैमा हार बेहोर्नु परेको छ।