
काठमाडौँ- ओपनरद्वय दिनेश खरेल र आन्द्रेस गौसको कीर्तिमानी साझेदारीले पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। टीयू मैदान कीर्तिपुरमा भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको हो।
गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्यो। पोखराले जितमा विभिन्न कीर्तिमान बनायो। जसमा गौसको पहिलो शतक समेत रह्यो। गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने।
१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका थिए। उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाएका हुन्। गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे। उनले १२ चौका र ५ छक्का नै प्रहार गरे। यसैगरी दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे। उनले ४ चौका र ४ छक्का प्रहार गरे।
टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो। अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए। अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए।
यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे। रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे। दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए। सन्दीप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए। पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। म्याट क्रिटलेले १ विकेट लिए।