
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो। यसअघि कर्णालीले दुई खेलमा हार ब्यहोरेको थियो।
चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य कर्णाली याक्सले १९ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो। कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए। उनले ४१ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे। यस्तै चाडविक वाल्टनले ३०, देव खनालले २५, जिशान मकसूदले १२ र अर्जुन घर्तीले ११ रनको योगदान दिए।
बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रवि बोपारा र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले अविजित रहँदै अर्धशतकीय पारी खेले।
उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतमा ५९ रन बनाए। कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले नौ नौ तथा दीपक बोहोराले आठ रन बनाए।
बलिङतर्फ कर्णाली याक्सका लागि विपिन शर्माले तीन, जिशान मकसूदले दुई तथा नन्दन यादव र कप्तान सोमपाल कामीले एक एक विकेट लिए। चितवनले यसअघि दुई खेल जितेको थियो।