ठूला दलको वरिपरि सहकारीको रकम अपचलन भइरहेको छ, रविसँग प्रतिशोध साँधियो : बाबुराम भट्टराई

हिमाल प्रेस २१ मंसिर २०८१ ११:५०
132
SHARES
ठूला दलको वरिपरि सहकारीको रकम अपचलन भइरहेको छ, रविसँग प्रतिशोध साँधियो : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेसपा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्।

डा.भट्टराईले ३० वर्षदेखि पालैपालो सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तीन ठूला नेताले लामिछानेसँग राजनीतिक प्रतिशोध साँधेर प्रहरी हिरासतमा पुर्‍याएको बताए।

विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई आज बिहान भेटेपछि बाबुरामले उक्त प्रतिक्रिया जनाएका हुन्।

बाबुरामले भने,‘हामीले नयाँ शक्ति घोषणा गरेपछि विभिन्न राजनीतिक शक्तिको उदय भइरहेको छ। त्योमध्ये एक शसक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा रविजीलाई बुझ्छु। त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव छ। उहाँलाई अहिले एकपछि अर्को दुःख दिइएकाे छ। त्यो अस्वभाविक र अन्यायपूर्ण नै हो भनेर यहाँ ऐक्यबद्धता जनाउन आएको हुँ। म आएको उहाँको स्वास्थ्य अवस्था बुझ्नलाई पनि हो। उहाँलाई प्रतिशोधपूर्ण भएको मैले बुझेको छु।’

डा.भट्टराईले सहकारीको रकम अपचलनको जरा धेरै परसम्म फैलिएको बताए। ठूला तीन दलका नेताको वरिपरि नै सहकारीको रकम अपचलन भएको भट्टराईले बताए।

उनले भने,‘सहकारीसम्बन्धी जुन जरो छ त्यो धेरै परसम्म फैलिएको छ। जो ३० वर्षदेखि तीन दलका तीन नेताहरू पालैपालो सत्तामा बसिरहेका छन्। तिनकै वरिपरी अपचलन भइरहेको छ। त्यसको समस्या हल नगर्दा साना मझौला संस्थाहरू मर्कामा परेका छन्। तीनको समस्या हुनुपर्छ। त्यो विषयान्तर हुने त होइन? हामीले संविधानलाई मान्नुपर्छ। कानुनले आफ्नो बाटो लियोस्। यता राजनीतिक प्रतिशोध लिने, उता सहकारी पीडितको समस्या हल नहुने।’

डा.भट्टराईले विभिन्न बहानामा तीन पार्टीका तीन ठूला नेताले जनतालाई ठग्ने, प्रतिस्पर्धीलाई तर्साउने कारणले देशलाई बर्बादीतिर लैजान्छन् कि भन्ने चिन्ता भएको बताए।

नेसपा नयाँ शक्तिको गण्डकी प्रदेश सचिवालय बैठक सकेर डा.भट्टराई रविलाई प्रहरी कार्यालय पुगेका थिए।

प्रकाशित: २१ मंसिर २०८१ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast