
काठमाडौँ- भारतको बडौदा क्रिकेट टिमले इतिहास रच्दै टी–२० क्रिकेटमा सबैभन्दा बढी रनको विश्व कीर्तिमान बनाएको छ।
मध्य प्रदेशको इन्दौरमा सैयद मुश्ताक अली ट्रफीअन्तर्गत बिहीबार भएको खेलमा बडौदाले सिक्किमविरूद्ध यो कीर्तिमान बनाएको हो। बडौदा टिमले ५ विकेटको क्षतिमा ३४९ रन बनाएको हो।
योसँगै टी–२० क्रिकेटमा जिम्बाबेले बनाएको सबैभन्दा बढी ३४४ रनको कीर्तिमान बडौदाले तोडेको छ। जिम्बाबेले यो कीर्तिमान गाम्बियाविरूद्ध बनाएको थियो।
यसका साथै टी–२० को एउटै इनिङमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान पनि बडौदाले बनाएको छ। बडौदा टिमले एक इनिङमा ३७ छक्का प्रहार गरेको थियो।
यसअघि यो कीर्तिमान पनि जिम्बाबेको नाममा थियो। जिम्बाबेले गाम्बियाविरूद्ध २७ छक्का प्रहार गरेको थियो।
बडौदाको तर्फबाट शाश्वत रावत र अभिमन्यु सिंह राजपुतले ९२ रनको ओपनिङ साझेदारी गरेका थिए। त्यस्तै भानु पानियाले ५१ बलमा १३४ रन बनाएर नटआउट रहे। पानियाले आफ्नो इनिङमा पाँच चौका र १५ छक्का प्रहार गरेका थिए।
जवाफमा सिक्किम टिम निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रनमात्रै बनायो।