गाँजा तस्करी प्रकरण : यातायातमा भेटिएन दर्ता, नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरेको पुष्टि

विवेक विवश रेग्मी २० मंसिर २०८१ १९:४२
30
SHARES
गाँजा तस्करी प्रकरण : यातायातमा भेटिएन दर्ता, नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरेको पुष्टि

इटहरी- धरानमा गाँजासहित पक्राउ परेका तस्करहरूले सरकारी नम्बर प्लेट कीर्ते गरेको पुष्टि भएको छ। प्रहरीको अनुसन्धान अनुसार गाँजा तस्करहरूले नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्कर गरेको अनुसन्धानबाट खुलेको हो।

सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले मंगलबार साँझ एक जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद गरिएको र घटनामा एक जनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेका छन्। विश्वकर्मा बा १ झ ४६०५ नम्बरको स्कारपिओ चालक हुन्। बा १ झ ५१२७ नम्बरको गाडी चालक फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राइफलबाट ४ राउण्ड फायर गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो। ‘ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ तिमल्सिनाले भने, ‘यातायात कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म कतै पनि दर्ता भएको पाइएन।’

उनका अनुसार सरकारी नम्बर प्लेट भएका गाडीको च्यासिस नम्बर र इञ्जिन नम्बर अनुसन्धान गर्दा कहीँ पनि दर्ता भएको छैन। ‘इञ्जिन र च्यासिस नम्बर नमिलेको र हालसम्म दर्ता पनि नभएको पाइएको छ,’ डीएसपी तिमल्सिना भन्छन्, ‘कहाँ दर्ता भइरहेको भन्ने अनुसन्धान भइरहेको छ।’

प्रहरीको अनुसन्धान अनुसार बा १ झ ४६०५ नम्बरको कीर्ते अंकित भएको गाडीको च्यासिस नम्बर इइ१०००००९००० र इञ्जिन नम्बर २इ२८९४१५५ रहेको छ। तर, उक्त नम्बर भएका गाडीहरू कुनै कार्यालयका सरकारी गाडी नरहेको र यातायात नम्बरमा पनि नमिलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यसै गरी बा १ झ ५१२७ को कीर्ते नम्बर रहेको गाडीको च्याचिस नम्बर जे.डब्लु.बी.ए.ए बी १४२०३११००६ नम्बर र इञ्जिन नम्बर जीए १३६३०२४८ बी रहेको छ। उक्त गाडी पनि कहीँ दर्ता नभएको खुलेको छ। सो गाडीका चालक भने फरार रहेकाले प्रहरीले विशेष सुरक्षा समिति परिचालन गरी खोजी गरिरहेको छ।

पक्राउ परेकामाथि भने लागूऔषध ऐन अन्तर्गत र मुलुकी अपराध संहिताको परिच्छेद २५ को दफा २७६ को उपदफा २ को (ख) बमोजिम सरकारी कीर्ते सम्बन्धी अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ। यसैगरी सवारी साधनको कीर्ते नम्बर प्लेट लगाएको कसुरमा कारबाही तथा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

खास गरी सरकारी गाडीलाई चेकजाँच नहुने भन्दै तस्करको समूहले निजी गाडीलाई नै सरकारी नम्बर प्लेट बनाएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ। उक्त गाडीहरू कसको नाममा दर्ता भएका छन् भन्ने पनि खुलिनसकेकाले अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख, एसपी सुमनकुमार तिम्सिनाले बताए। चोरीका गाडीसमेत हुन सक्ने भन्दै प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान सुरू गरेको छ।

उनका अनुसार तस्करको समूहले कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा, भोजपुरलगायतबाट ठूलो परिमाणको गाँजा भारतसम्म लैजाने गरेको छ। कहिले एम्बुलेन्स त कहिले इन्धन बोक्ने ट्यांकरमा गाँजा तस्करी गर्दै आएको समूहले यसपटक भने सरकारी नम्बर प्लेटकै गाडी प्रयोग गरी तस्करी गरेको खुलेको छ।

सुनसरी प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै ६ हजार १९७ केजी गाँजा बरामद गरिएको छ। लागूऔषध ओसारपसारमा संलग्न सवारी साधनलाई लागूऔषध ऐन अन्तर्गत जफत गरिने प्रहरीले जनाएको छ। ‘हालसम्म लागूऔषध ऐन अन्तर्गत जफत गरिएका सवारी साधन चार करोड २५ लाख रुपैयाँका रहेका छन्,’ एसपी तिम्सिना भन्छन्, ‘पछिल्लो समय सुनसरी प्रहरीले लागूऔषधलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले विशेष निगरानी बढाएको छ।’ उनका अनुसार सुनसरी प्रहरीले फैसला कार्यान्वयन, लागूऔषध अप्रेसन, भन्सार चोरी निकासी नियन्त्रण र नवप्रवर्द्धनात्मक कार्यमा जोड दिएको छ।

जसअनुसार मंसिर महिनामा मात्रै ७४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको छ। चालु आर्थिक वर्षमा १२० जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई कूल ४६ वर्ष ६ महिना १० दिन कैद भुक्तानी गरिएको छ भने १८ लाख ९६ हजार ८८७ राजस्व संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा माात्रै गाँजा ६,११७ केजी, ब्राउनसुगर, ६८१ ग्राम, एम्पुल, ५०, ट्याब्लेट, १६७,०६८ क्याप्सुल, १८, बोतल १८ बरामद गरेको छ। १७८ वटा मुद्धा दर्ता हुँदा २६२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही र अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८१ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast