‘कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ’

हिमाल प्रेस २० मंसिर २०८१ १७:१९
6
SHARES
‘कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ’

ललितपुर– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले हरेक श्रमजीवी नागरिकको कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्छ भन्नेमा जोड दिएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिहीबार ललितपुरमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रमिकको मन्त्रालय भएको उल्लेख गर्दै श्रमसँग सम्बन्धित सबै समस्या सरोकारवालासँगको समन्वय र सहकार्यमा समाधान हुने बताए।

‘सरकारलाई दोषारोपण गरेर मात्रै केही हुँदैन, श्रम ऐन संशोधन आवश्यक छ, सरकार एक्लैले गर्न सक्दैन, सरोकारवालाहरुको सहभागिता चाहिन्छ, कोखदेखि शोकसम्म राज्यले सुनिश्चितता गर्न नसकेसम्म नागरिकले सुरक्षित महसुस गर्न सक्दैन,’ मन्त्री भण्डारीले भने।

उनले सरकार, रोजगारदाता र श्रमिकको सहभागिता हुँदा पनि सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए। ‘वैदेशिक रोजगार ऐन सुधारका लागि हामीले सुरुआत गरेका छौँ, मन्त्रालयलाई श्रमिकको हकहितका लागि काम गर्ने मन्त्रालय बनाउन ट्रेड युनियनहरुको महत्वपूर्ण भूमिका हुन्छ, अहिले बैदेशिक रोजगारको मात्रै बढी काम भएको छ, समृद्धिको आधार रोजगार हो,’ मन्त्री भण्डारीले भने।

नेपालका लागि जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन ताकाहिरो तमुराले यस गोष्ठीले काम गर्ने वातावरण र स्वस्थ्य औद्योगिक सम्बन्धबारे सहभागीका ज्ञान तथा अनुभव बाँड्दै श्रमक्षेत्रका सरोकारवाला र रोजगारदातबीच छलफल हुने विश्वास व्यक्त गरे। उनले नेपालमा काम गर्ने वातावरण र औद्योगिक सम्बन्धका चुनौती र सुधार गर्नुपर्ने विषयमा यो गोष्ठी सार्थक हुने बताए।

जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ) का कार्यकारी निर्देशक तोशिरो मोटोबायशीले सन् १९८९ मा स्थापना भएपश्चात् विभिन्न देशमा कार्यक्रम गर्दै आएको बताए।

उनले श्रमिक र रोजगारदाताबीच समन्वय गर्दै रचनात्मक औद्योगिक सम्बन्धलाई स्थापित गर्ने उद्देश्य बोकेर यो गोष्ठी सञ्चालन गरिएको जानकारी गराए।

प्रकाशित: २० मंसिर २०८१ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast