उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछु : महानिरीक्षक कुँवर

हिमाल प्रेस २० मंसिर २०८१ १५:०५
8
SHARES
उच्च मनोबलसहित प्रहरी सेवालाई प्रभावकारी बनाउँछु : महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर। फाइल तस्बिर

कास्की– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।

कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन्।

अपराध नियन्त्रणप्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिको विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै कास्की प्रहरीमा थप जिम्मेवारी थपिएको बताउँदै उनले पर्यटकीय राजधानी कास्कीमा स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा थप जिम्मेवारपूर्ण बनेको उल्लेख गरे। उनले पर्यटकको सुरक्षामा पनि त्यतिकै ध्यान दिन कास्की प्रहरीलाई आग्रह गरे।

रात्रिकालीन व्यवसायको सुरक्षाका साथै पर्यटकमैत्री वातावरण बनाउने काममा पनि सुरक्षाकर्मी लाग्नु पर्ने उनको भनाइ छ। विपद्का घटनाप्रति चनाखो हुँदै जतिसक्दो छिटो उद्धारमा सुरक्षाकर्मी पुग्नुुका साथै अपराध अनुसन्धान कार्यमा निश्पक्षता अपनाउन महानिरीक्षक कुँवरले आग्रह गरे।

देशभर अपराधका घटना वार्षिक रुपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने उहाँको भनाइ छ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको रु. १० करोड ६० लाखको लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको हो। चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको जानकारी उक्त अवसरमा दिइएको छ।

पाँच रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ९०५ वर्गफिट क्षेत्रफलमा उक्त भवन बनेका हो। उक्त कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले गरेका थिए।

प्रकाशित: २० मंसिर २०८१ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast