‘इजरायलले प्यालेस्टाइनीविरुद्ध जातिसंहार गरिरहेको छ’

हिमाल प्रेस २० मंसिर २०८१ १३:४६
4
SHARES
‘इजरायलले प्यालेस्टाइनीविरुद्ध जातिसंहार गरिरहेको छ’ इजरायल र प्यालेस्टिनीबीच युद्धका कारण विस्थापित प्यालेस्टिनीहरू सुरक्षित स्थलतर्फ जाँदै। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इजरायलले अधीनस्थ गाजापट्टीका प्यालेस्टाइनीविरुद्ध जातिसंहार जारी राखेको निष्कर्ष अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निकालेको छ। एम्नेस्टीले शुक्रबार जारी गरेको ‘गाजाका प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको जातिसंहार’ शीर्षक प्रतिवेदनमा सन् २०२३ को अक्टोबर ७ मा दक्षिण इजरायलमा हमासद्वारा भएको घातक आक्रमणपछि सुरु गरिएको सैन्य कारबाहीमा इजरायलले गाजाका प्यालेस्टाइनीविरुद्ध निर्लज्ज, निरन्तर र पूर्ण दण्डहीनताका साथ नारकीय वितण्डा र विध्वंस मच्चाएको उल्लेख छ।

‘गाजाका प्यालेस्टाइनीलाई नष्ट गर्ने विशेष नियतका साथ इजरायलले जातिसंहार महासन्धिअन्तर्गतका निषेधित कार्यहरू गरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले देखाएको छ। यी कार्यहरूमा हत्या, गम्भीर शारीरिक वा मानसिक हानि पुर्‍याउने कार्य र गाजाका प्यालेस्टाइनीहरूलाई जानाजानी उनीहरूको शारीरिक विनाश निम्त्याउने प्रकृतिको जीवनका अवस्थाहरू सिर्जना गर्नेलगायतका कार्यहरू समावेश छन्’, एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले भनिन्।

उनले महिनौँ महिनादेखि इजरायलले गाजाका प्यालेस्टाइनीलाई शारीरिक रूपमा नष्ट गर्ने आफ्नो मनसाय प्रदर्शन गर्दै उनीहरूलाई मानवअधिकार र मर्यादाका लागि अयोग्य एउटा अमानव समूहको रूपमा व्यवहार गरेको बताइन्। उनले भनिन्, ‘हाम्रो निष्कर्षले अन्तर्राष्ट्रिय समुदायलाई एउटा चेतावनीको रूपमा काम गर्नुपर्छ, यो जातिसंहार हो।यो अब रोकिनुपर्छ।’

इजरायललाई हतियार हस्तान्तरण गर्न जारी राख्ने राष्ट्रहरू जातिसंहारमा मतियार हुने जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। प्रमुख हतियार आपूर्तिकर्ताहरू संयुक्त राज्य अमेरिका र जर्मनी, साथसाथै युरेपेली संघका अन्य सदस्य राष्ट्र, बेलायत र अरूलाई पनि गाजाका प्यालेस्टाइनीविरुद्ध इजरायलको अत्याचार अन्त्य गर्न एम्नेस्टीले आग्रह गरेको छ।

एम्नेस्टीका अनुसार विगत दुई महिनायता उत्तरी गाजामा संकट चुलिएको छ। घेराबन्दीमा परेका नागरिकको जीवन बचाउने मानवीय सहायतामाथि निरन्तर बम आक्रमण भइरहेको छ। साथै प्रतिबन्धका कारणा मानिसहरू भोकमरी, विस्थापन र विनाशको सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

‘इजरायलले गाजाका प्यालेस्टाइनीहरूलाई पुर्‍याएको अपूरणीय हानिको बारेमा पूर्ण रूपमा सचेत रहेर पनि जातिसंहारका कार्यहरूलाई निरन्तर जारी राखेको छ। विनाशकारी मानवीय अवस्थाको बारेमा अनगिन्ती चेतावनीहरू र गाजाका नागरिकलाई मानवीय सहायतासम्बन्धी व्यवस्थालाई सक्षम पार्न इजरायललाई तत्काल कदम चाल्न आदेश दिने अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) बाट भएको बाध्यकारी निर्णयहरूको अवहेलना गर्दै इजरायलले त्यस्तो कार्य गर्न जारी राख्यो’, आग्नेस कालामारले भनिन्।

इजरायलले भने गाजामा गरिएका आफ्ना कारबाहीहरू कानुनसम्मत र हमासलाई निर्मूल पार्ने सैन्य उद्देश्यले जायज भएको तर्क गर्दै आएको छ। तर जातिसंहारकारी मनसाय सैन्य लक्ष्यमा पनि सँगसँगै रहन सक्छ र यो इजरायलको एउटै मात्र मनसाय हुन आवश्यक नरहेको सुझाव एम्नेस्टीले दिएको छ।

‘हमास र अन्य सशस्त्र समूहहरूले इजरायली र अन्य राष्ट्रियताका पीडितहरूमाथि सन् २०२३ को अक्टोबर ७ मा गरेका योजनाबद्ध सामूहिक हत्या र बन्धक बनाउने लगायतका अत्याचारका अपराधले कहिल्यै पनि गाजामा प्यालेस्टाइनीहरूविरुद्ध लक्षित इजरायलको जातिसंहारलाई जायज बनाउन सक्दैन’, प्रतिवेदनमा उल्लेख छ।

एम्नेस्टीका अनुसार यसरी मृत्यु र घाइते हुनेहरू धेरैजनामाथि प्रत्यक्ष वा जानाजानी अन्धाधुन्ध आक्रमण गरिएको थियो। यसबाट बहुपुस्तागत परिवारहरूलाई नष्ट पारिएको छ। गाजा क्षेत्रका सम्पूर्ण सहरहरूलाई समतल पार्दै र महत्त्वपूर्ण पूर्वाधार, कृषि भूमि र सांस्कृतिक एवं धार्मिक स्थलहरू नष्ट पार्दै यसले अभूतपूर्व विनाश निम्त्याएको छ।यसरी गाजाको ठूलो भाग मानव बसोवासका लागि अयोग्य बनेको प्रतिवेदनमा उल्लेख छ।

‘सुरूमा युद्धविरामको आह्वान गर्न ढिलाइ गरेर र त्यसपछि हतियारको स्थानान्तरणलाई निरन्तरता दिएर एक वर्षभन्दा बढी समयसम्म इजरायललाई गाजामा उसले जारी राखेको अत्याचार रोक्न दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायको गम्भीर र लज्जाजनक विफलता हाम्रो सामूहिक अन्तस्करणमा एउटा दागको रूपमा छ र रहिरहनेछ’, आग्नेस कालामारले भनिन्।

इजरायलद्वारा भएको अन्तर्राष्ट्रिय कानुनको उल्लंघनमा दशकौँदेखिको दण्डहीनताका कारण सहज भइरहेको यो जातिसंहारलाई अन्त्य गर्नमा सरकारहरूले शक्तिहीन भएको बहानाबाजी गर्न छाड्नुपर्ने आग्रह एम्नेस्टीको छ।

एमनेस्टीले भनेको छ, ‘इजरायलका कतिपय सहयोगी राष्ट्रहरूलाई जातिसंहारको निष्कर्ष जतिसुकै असहज भएतापनि राष्ट्रहरूले केबल दु:ख व्यक्त गर्ने वा आश्चर्य जनाउने भन्दा माथि उठेर बलियो र दीर्घकालीन अन्तर्राष्ट्रिय कदम उठाउनुपर्छ।’

प्रकाशित: २० मंसिर २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast