एनपीएलमा जनकपुरको तेस्रो जित, पोखराको लगातार हार

हिमाल प्रेस २० मंसिर २०८१ १२:१६
10
SHARES
एनपीएलमा जनकपुरको तेस्रो जित, पोखराको लगातार हार

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ।

लगातार तेस्रो जित हात पार्ने क्रममा बिहीवार जनकपुरले पोखरामाथि ७ विकेटको जित हात पार्‍यो। पोखराले दिएको १ सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए । मिलन्था माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच आउट भएका थिए।

लिगमा १ सय ४४ रनका साथ मिलन्था सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन् ।उनले विराटनगर किंग्ससँगको पहिलो खेलमा ७५ तथा कर्णाली याक्ससँगको दोस्रो खेलमा २४ रन जोडेका थिए। जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नट आउट १३ रन बनाए ।

आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे। ३३ रन बनाउँदै आसिफ कुशल भुर्तेलको बलमा डूलो सट खेल्ने धुनमा विपिन खत्रीबाट क्याच आउट भए। आसिफकाविरुद्ध पहिलो ओभरको तेस्रो बलमा आकाश चन्दले क्याच आउट मौका सिर्जना गरेका थिए। तर, विकेटकिपर दिलिप नाथ तथा स्लिपका फिल्डर माइकल लिस्कले मौकाको सदुपयोग गर्न चुकेका थिए । त्यस समयमा आसिफले रनको खाता नै खोलेका थिएनन्।

ओपनर तथा कप्तान अनिलकुमार शाह दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीको बलिङमा एलबिडब्लु धरापमा परे । अनिलले ३ बलमा १ रन मात्र जोडेका थिए । पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो ।

पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।

ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।

माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए । राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।

न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए। दिनेशले १७ बलमा १० रन जोडेका थिए ।

कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे ।

जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।

पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

प्रकाशित: २० मंसिर २०८१ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast