काठमाडौँ– जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर परेको र वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको अनुसन्धानले देखाएको छ। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्रा. डा. प्रेमसागर चापागाईको नेतृत्वमा नेपाल, भारत, चीन र बंगलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताद्वारा गरिएको अध्ययनले जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको देखाएको हो।
दक्षिण एसियाको सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन शीर्षकमा अनुसन्धानकर्ताले तीन वर्ष लगाएर उक्त अध्ययन गरेका थिए।
अनुसन्धानकर्ता प्रा. डा. प्रेमसागर चापागाईले जलवायु परिवर्तनबाट कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीनालीमा रोग तथा कीराको संक्रमण बढेको, बेमौसमी अधिक वर्षा हावाहुरी र असिनाले बालीनालीमा क्षति पु–याउँदै गएकाले कृषि पेसा छाड्ने क्रम बढेको बताए।
‘जलवायु परिवर्तनको प्रभाव र घरपरिवारको अनुकूलन क्षमता र चुनौतीका बारेमा पहिलोपटक गरिएको चार देशीय अनुसन्धान प्रतिवेदनअनुसार किसान श्रमिकको रुपमा विदेसिँदा जमिन बाँझिदै गएको र यसबाट खाद्य सुरक्षामा असन्तुलन देखापरेको छ,’ उनले भने, ‘जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढी तथा पहिरोजस्ता विषम मौसमी घटनाको बढ्दो प्रवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको छ।’
बढ्दो खडेरी र मनसुनको ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको र उत्पादकत्व घटेको प्रतिवेदनमा उल्लेख छ। ‘भारत तथा बंगलादेशमा बाढी तथा डुबान बढेको छ, नदी तटीय कटान भई ठूलो संख्यामा घरपरिवार विस्थापित भएका छन् र खेतीयोग्य जमिन नाश भएको छ। बंगलादेशमा हिउँदमा नदीको गहिराइ कम हुन थालेको छ र नदीका बीचमा बालुवाका टापुहरुको उत्पत्ति भएर माछाको वासस्थानमा नकारात्मक असर परेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘माछाको प्रजाति र उत्पादन दुवै घट्दै गएकाले मत्स्य व्यवसायमा आबद्ध किसानको जिविकोपार्जनमा चुनौती थपिएको छ।’
अनुसन्धानमा जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको संकटासन्नताको अवस्थाका बारेमा दक्षिण एसियाका विभिन्न देशहरुको तुलनात्मक अध्ययन गरिएको छ।
‘जलवायु परिवर्तनको सकारात्मक प्रभाव पनि पाइएको छ। नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ। तर यी क्षेत्रमा खेतीयोग्य भूमि र सिँचाइ सुविधा सीमित हुँदा उत्पादन न्यून छ,’ प्रा. डा. चापागाईले भने।
यस अनुसन्धानअन्तर्गत नेपाल खण्डको छुट्टै प्रतिवेदन तयार पारिएको छ। नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपाय तथा नीतिगत सवाल शीर्षकको नेपाल केन्द्रित प्रतिवेदनमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरु भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ।
प्रतिवेदनमा जलवायु परिवर्तनको अवस्था र यसले कृषिमा पारेको प्रभाव, अनुकूलनका उपाय तथा नेपालका विभिन्न भौगोलिक क्षेत्रका किसानको अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख कारकतत्व र नीतिगत सवाल समेटिएको छ।
रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्लाका दुई सय १९ घरधुरीलाई नमूना चयन गरी गरिएको अध्ययननका क्रममा गएको ३० वर्षमा तापक्रम बढेको प्रतिवेदनमा उल्लेख छ। ‘वर्षा केही मात्रामा घटेको, खाद्यचक्रमा प्रभाव पर्दा आन्तरिक र बाह्य बसाई सर्ने क्रम बढेको अनि कृषि र पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दै गएकोे छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम र कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ। तराईमा ३४ प्रतिशत, घरपरिवार, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेका छन्।’
अनुसन्धानका क्रममा नेपालमा तापक्रम परिवर्तनको दर भौगोलिक क्षेत्रअनुसार फरक छ। तराईमा औसत वार्षिक शून्य दशमलव ०.४२ डिग्री सेन्टिग्रेड, पहाडमा शून्य दशमलव ०.९२१ डिग्री सेन्टिग्रेड र हिमालमा शून्य दशमलव ०.२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको तथ्य उजागर गरिएको छ।
वार्षिक वर्षा हिमाली क्षेत्रमा १३ दशमलव १२ मिलिमिटर, पहाडी क्षेत्रमा नौ दशमलव ३९ मिलिमिटर र तराईमा पाँच दशमलव ०२ मिलिमिटर घटेको प्रतिवेदनमा उल्लेख छ।