
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा सयोगपेक्ष सडकमुक्त गर्ने उद्देश्यले मानव सेवा आश्रमको भवन निमार्णका लागि महायज्ञ हुने भएको छ। कुनै पनि नागरिक सडक र साङ्लामा बाँधिनु हुँदैन भन्ने उद्देश्यले यो भवनको निमार्ण गर्न लागिएको हो।
मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञका लागि पुर्ण रुपमा तयारी भएको आयोजकले जनाएका छन्।
महायज्ञ विशेषगरी आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ लगाइँदैछ। महायज्ञ मूल आयोजक समितिका संयोजक डा.नवराज केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराएको छ। भवन निर्माणका लागि आवश्यक पुँजी जुटाउनका महायज्ञ लगाउन लागिएको उनले बताए।
मानवसेवा आश्रम अहिले भाडाको भवनबाट सञ्चालित हुँदै आएको छ। २०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको थियो। हालसम्म ४ सय ६ जना बेसहारालाई उद्धार गरिएको आश्रमले जनाएको छ।
भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरेको आयोजक समितिका संयोजक डाक्टर केसीले जानकारी दिए। भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्नेमात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने लक्ष्य रहेको उनले बताए।
‘मानवता अध्ययन केन्द्रको रुपमा विकास गरिने परिकल्पना छ,’ उनले भने। साथै महायज्ञमा आउने गुरु, कथा वाचक, कलाकारहरुले पैसा लिने छैनन्।
यस्तै महायज्ञ अवधिभर स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। जसमा वरिष्ट फिजिसिएन डा. के.एन पौडेललगायतको टिमबाट वरिष्ठ हाडजोर्नी रोग डा.रुपक कँडेल, डा.किशोर विष्ट, डा.शुभ श्रेष्ठलगायतको टिमबाट स्वास्थ्य सेवा दिने भएको छ भने आयुर्वेद अस्पतालबाट डा. शंकर रिजालको टिमलगायत अन्य स्वास्थ्य परिक्षण निःशुल्क हुने भएको छ।
यस्तै मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले भवन निर्माणका लागि डीपीआर तय भइसकेको बताए। भवन निर्माणका लागि रकम जुटाउन महायज्ञ लगाउन लागिएको हो।
पैसा मात्र नभई सेवा गर्ने हातहरु पनि चाहिएको उनको भनाइ छ। सातदिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामुहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाक्री प्रदर्शन लगायतका कार्यक्रम रहने छन्।
महायज्ञ अवधिमा बिहान ५–७ बजेसम्म योगको कार्यक्रम गरिने छ। त्यसमा अन्तराष्ट्रियस्तरको प्रशिक्षक आउने बताइएको छ।
७–९ बजेसम्म प्लस टु तहका विद्यार्थीहरुलाई योग, प्रणायम, ध्यानको महत्वको बारेमा मानवता प्रवद्र्धन प्रशिक्षण दिइने छ। ९–११ सम्म ८, ९, १० कक्षाका विद्यार्थी, त्यसपछि बेलुका ४ बजेसम्म कथा वाचन र त्यसपछि ८ बजेसम्म स्थानीय तथा बाहिरबाट आएका कलाकारबाट भजनको कार्य हुने छ। महायज्ञमा सन्दुक रइत, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका व्यक्तिहरु पनि सहभागी हुने बताइएको छ।
दाता र सम्मान कार्यक्रम
आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ। १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ।
५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ।
०८२ मा सडक आश्रित मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य
मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको बताएको छ। त्यो अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने मानव सेवा आश्रमका संस्थापक अध्यक्षले बताए।
उक्त अवधिमा कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्न ०६९ सालदेखिनै काम भइरहेको उनले बताए। उनका अनुसार अहिलेसम्म १० हजार ६८७ जना भन्दा बढी सहयोगापेक्षी बेसहारा सडक मानवको उद्धार गरी मानवोचित व्यवस्थापन गराइसकिएको छ।