काठमाडौँ- निरोज महर्जनको निर्देशन बनेको फिल्म ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ। काठमाडौँ, पाँचखाल, बारा र चितवनमा खिचिएको फिल्मको सबै छायांकन ३५ दिन सकिएको निर्माता रौनक विक्रम कँडेलले बताए।
फिल्म २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’को सिक्वेल हो। पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिय ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन्। अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिकामा छिन्।
अन्य कलाकार नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहनेछ। रौनक विक्रम कँडेलको लगानीमा बनेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्माता एनी थापा हुन्।
फिल्म सिनेमा आर्टस्को प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो। सुसन प्रजापतिको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहनेछ।