काठमाडौँ- स्वाद र गुणस्तरका कारण नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा चाहिँ कफी निर्यातभन्दा आयात धेरै हुने गरेको छ। नेपाली कफी स्वदेशी बजारमा प्रत्येक वर्ष न्यूनतम २२ हजार मेट्रिक टनभन्दा बढी माग हुने गरेको बोर्डले जनाएको छ। नेपालमा साढे २१ हजार मेट्रिक टन कफी उत्पादन हुन्छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले स्वदेशमा उत्पादित कफी आन्तरिक बजारमा एक महिनाका लागि पनि नपुग्ने बताए। उनले भने, ‘स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको माग बढ्दो छ। उत्पादन नबढ्दा निर्यातभन्दा बढी आयात भइरहेको छ।’ स्वदेशमा उत्पादन भएको कफीले आन्तरिक बजारको माग नधान्दा बर्सेनि करोडौँ रुपैयाँको कफी विदेशबाट ल्याउनुपरेको उनले बताए।
‘विदेशी बजारमा नेपाली कफी मन पराइएको छ। कफीले उचित मूल्यसमेत पाइएको छ। तर उत्पादन मागअनुसार भएको छैन। उत्पादन कफीखेतीका लागि सरकारले लगानी र अनुदानसमेत बढाउन थालेको छ’, उनले भने।
चालु आर्थिक वर्षको चार महिनामा नेपालले ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ बराबरको ६९.७७ मेट्रिक टन कफी आयात गरेको छ। यस अवधिमा तीन करोड ३५ लाख २५ हजार रुपैयाँ बराबरको १८.६७ मेट्रिक टन निर्यात भएको बोर्डले जनाएको छ।
नेपालमा कफी उत्पादन भए पनि निर्यातको तुलनामा आयात दोब्बर बढी भइरहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। बोर्डका अनुसार नेपालमा उत्पादन भएको १७ प्रतिशत कफीमा मात्र विदेशी बजारमा पुग्ने गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ मा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात हुँदा ८९ मेट्रिक टन कफी निर्यात भएको बोर्डको तथ्यांक छ। आर्थिक वर्ष २०७९/०८० मा ३२ करोड ५८ लाख ६६ हजार आयात हुँदा १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २७९.८६ मेट्रिक टन कफी आयात हुँदा ११ करोड ७० लाख ८५ हजार रुपैयाँ बराबरको ६९.५१ मेट्रिक टन कफी निर्यात भएको बोर्डको तथ्यांक छ।
बोर्डको चार आर्थिक वर्षको तथ्यांक हेर्दा निर्यातको तुलनामा करिब चार गुणा बढी कफी आयात भइरहेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले राम्रो मूल्य पाए पनि उत्पादन धेरै नहुँदा समस्या सिर्जना भइरहेको बोर्डका प्रवक्ता खनाल बताउँछन्।
४६ जिल्लामा कफीखेती
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ४३०९ हेक्टरमा कफीखेती भइरहेको छ। इलाम, पाँचथर, झापा, गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४६ जिल्लामा व्यावसायिक कफी खेती हुँदै आएको बोर्डले जनाएको छ।
नेपाली कफी सरदर प्रतिकेजी १६ अमेरिकी डलरमा विदेशी बजारमा व्यापार भइरहेको छ। आयात मूल्यको तुलनामा झण्डै ३ गुणा बढीमा नेपाली कफी विदेशी बजारमा व्यापार भइरहेको बोर्डको तथ्यांक छ।
२०८१ मंसिर १ गते देखि लागु हुने फ्रेस चेरी कफी ग्रेड ए को मूल्य प्रतिकेजी १०५ रुपैयाँ तोकिएको छ। बोर्डका अनुसार ८०० मिटरभन्दा माथि, प्रांगारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरी ग्रेड ए हो। यसको माग विदेशी बजारमा उच्च छ। ग्रेड ए को मूल्य प्रतिकेजी ५ सय ३५ तोकिएको छ।
ग्रेड बी को मूल्य प्रतिकेजी ४८२ रुपैयाँ तोकिएको छ। ड्राई चेरी कफी ग्रेड ए को प्रतिकेजी २८० रुपैयाँ र ग्रेड बीको २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३६० हेक्टर जमिनमा कफी खेति हुँदै आएकोमा आर्थिक वर्ष २०८०/८१ मा ४३०९ हेक्टर पुगेको छ। आगामी वर्ष कफीखेती अझै बढ्ने बोर्डको आकलन छ। कफी खेतीमा प्रत्यक्ष तीन हजार किसान जोडिएका छन् भने चार हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बोर्डका अधिकारीहरू बताउँछन्।