प्रधानसेनापतिको भारत भ्रमण २६ गतेदेखि, मानार्थ महारथीको दर्ज्यानी चिह्न पाउने १७औँ सेनापति बन्दै सिग्देल

हिमाल प्रेस १८ मंसिर २०८१ १८:५०
18
SHARES
प्रधानसेनापतिको भारत भ्रमण २६ गतेदेखि, मानार्थ महारथीको दर्ज्यानी चिह्न पाउने १७औँ सेनापति बन्दै सिग्देल

काठमाडौँ- भारतका स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी चारदिने औपचारिक भ्रमण सकेको तीन साता नहुँदै प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। सैनिक मुख्यालय स्रोतका अनुसार सिग्देल मंसिर २६ मा नयाँदिल्ली कार्यक्रम तय भएको छ। जसरी सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष नेपाल आएका थिए, त्यसैगरी उनी भारतीय सेनाध्यक्षको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्। मुख्यालय स्रोतका अनुसार सिग्दलेको भ्रमण ५ दिने हुनेछ।

प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। नेपालले भारतको र भारतले नेपालको प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने परम्पराअनुरूप सिग्देलको भ्रमण हुन लागेको हो।

मंसिर ५ गते नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। सिग्देललाई भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन्। भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक स्रोतले बतायो।

सिग्देल भारत पुगेको भोलिपल्ट अर्थात् मंसिर २७ मा राष्ट्रपति मुर्मुले एक विशेष समारोहका बीच भारतीय सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेना प्रमुख जन रल द्विवेदी २० औँ सेनापति थिए भने भारतबाट मानार्थ सेनापतिको दर्ज्यानी चिह्न पाउने सिग्देल नेपालका १७ औँ प्रधानसेनापति हुनेछन्।

सेना प्रमुख नियुक्त हुनासाथ एकअर्काका मुलुकमा पुगेर सम्बन्धित मुलुकका राष्ट्राध्यक्षबाट त्यहाँको सेनाको मानार्थ महारथी दर्जा लिने दुवै मुलुकको परम्परा छ। द्विवेदी गत असार १६ मा भारतीय स्थल सेनाप्रमुख नियुक्त भएका थिए। सिग्देल भदौ २४ मा नेपाली सेनाका प्रधानसेनपति भएका हुन्। त्यसैले महारथीको दर्जा पनि द्विवेदीले नै पहिला लिए।

नेपाल-भारत सम्बन्ध चिसिएको भनिएको अवस्थामा स्थल सेना प्रमुख नेपाल आउनु र नेपालका सेनापति तत्कालै भारत जानु आफैँमा अर्थपूर्ण मानिन्छ। नेपाल र भारतको सम्बन्ध भित्री रूपमा राम्रै रहेको सन्देश दिने विश्वास कूटनीतिक क्षेत्रका जानकारहरूको छ। सेनापति सिग्देलले भ्रमणका क्रममा सबै कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। उनले कुनै कमान्डको भ्रमण पनि गर्नेछन्।

सिग्देलअघिका सेनापति प्रभुराम शर्माले पनि भारत पुगेर मानरथीको दर्जा लिएका थिए। भारतीय सेना प्रमुख मनोज पाण्डेले २०७९ भदौ १९ देखि २३ सम्म नेपाल भ्रमण गरेका थिए। उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको दर्जा लिएका थिए। नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले पनि भारत पुगेर त्यहाँको सेनाको मानार्थ महारथीको दर्जा लिइसकेका थिए।

राणाहरू नै लिन्थे मानार्थ, पछि त्रिभुवनले पनि लिए

एक सय ३२ वर्षअगाडिको राणाकालीन नेपाल र अंग्रेज उपनिवेशकालीन भारतका बीचमा मानार्थ सैन्य दर्जा प्रदान गर्ने परम्परा थालनी भएको थियो। सन् १८९२ मा ब्रिटिस भारतका तत्कालीन प्रधानसेनापति लर्ड रबर्टको नेपाल भ्रमणका क्रममा उनलाई नेपालका तर्फबाट पहिलोपटक नेपाली सेनाको जनरलको मानार्थ उपाधि प्रदान गरिएको थियो।

ब्रिटिसकै समयदेखि दुवै मुलुकका सेना प्रमुखले एकअर्काको सेना प्रमुखको मानार्थ प्रमुखको दर्जा लिँदै आएका छन्। त्यो परम्परा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि पनि जारी छ। नेपालमा राणा शासन अन्त्य भयो। सक्रिय राजतन्त्रदेखि गणतन्त्रको समयसम्म यो प्रचलन कायम छ। सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र हुँदा नेपालमा राणा शासन थियो।

श्री ३ महाराज एवं प्रधानमन्त्री नेपाली सेनाका सुप्रिम कमान्डर रहन्थे। ब्रिटिस सरकारले त्यसअघिसम्म नेपालका तिनै श्री ३ महाराजलाई ब्रिटिस सेनाको मानार्थ जनरलको दर्जा दिने गर्दथ्यो।

भारत स्वतन्त्र भएपछि निरन्तरतास्वरूप पहिले तत्कालीन श्री ३ महाराज प्रधानमन्त्री पद्मशमशेर जबरालाई र पछि मोहनशमशेर जबरालाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरिएको थियो। २००७ साल फागुनमा नेपालमा राणा शासन अन्त्य भयो र प्रजातन्त्र आयो। त्यसपछिको परिवर्तित सन्दर्भमा भारत सरकारले पहिले राणा महाराजालाई प्रदान गर्ने भारतीय सेनाको मानार्थ जनरलको दर्जा राजा त्रिभुवनलाई प्रदान गर्‍यो।

नेपालका राजाले स्वीकार गरेझैँ ब्रिटिस उपनिवेशबाट भर्खरै स्वतन्त्र भएको गणतान्त्रिक भारतका राष्ट्रपतिले नेपाली सेनाको कुनै मानार्थ दर्जा ग्रहण गर्ने अवस्था हुँदैनथ्यो। पहिले एकपटक मात्र ब्रिटिस सम्राट् जर्ज छैटौँलाई नेपालले नेपाली सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो। यस्तो दर्जा पाउनेमा धेरैजसो ब्रिटिस भारतका प्रधानसेनापति थिए।

त्यसैले पनि होला नेपालले २००९ सालमा स्वतन्त्र भारतका प्रथम भारतीय एवं तत्कालीन स्थल सेना प्रमुख केएम करिअप्पालाई नेपाली सेनाको मानार्थ जनरलको दर्जा प्रदान गर्‍यो। २०१२ जेठमा भारत सरकारले त्रिभुवनलाई प्रदान गरेजस्तै राजा महेन्द्रलाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो।

भारतबाट त्यो दर्जा राजालाई प्रदान गरिँदै आएको थियो। प्रजातन्त्र पुनर्स्थापनापछिका नेपाली सेनाका दुई प्रधानसेनापति जनरल केशरशमशेर जबरा र जनरल किरणशमशेर जबरा दुवैले प्रधानसेनापतिका हैसियतमा भारतको औपचारिक भ्रमण गरेनन्। त्यसैले सेनाको स्तरमा उनीहरूको कार्यकालमा भारत सरकारले कुनै मानार्थ दर्जा नदिएको इतिहासका अध्येता सन्तोष खडेरी बताउँछन्।

किरणशमशेरपछिका तोरणशमशेरले सन् १९५८ र नीरशमशेरले सन् १९६४ मा प्रधानसेनापतिका हैसियतमा भारतको औपचारिक भ्रमण गर्दा पनि उनीहरूले समेत भारतका तर्फबाट त्यस्तो मानार्थ दर्जा नपाएको विषय विभिन्न पुस्तकमा उल्लेख छ। सन् १९६० डिसेम्बरमा नेपाल आएका करिअप्पापछिका दोस्रो भारतीय स्थल सेना प्रमुख केएस थिमैयालाई नेपालले नेपाली सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेको थियो।

नीरशमशेरपछिका प्रधानसेनापति जनरल सुरेन्द्रबहादुर शाह सन् १९६६ जनवरीमा दुई साता लामो औपचारिक भ्रमणका लागि भारत पुगेका थिए। त्यतिबेलै तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको निधन भयो। भारत सरकार राष्ट्रिय शोकमा रहँदा उनी बीचमै भ्रमण स्थगित गरेर फर्किएका थिए।

उनै जनरल सुरेन्द्रबहादुर शाह २०२६ मंसिरमा तत्कालीन भारतीय सेना प्रमुख जनरल एसएचएफजे मानेकसाको निमन्त्रणामा १० दिने औपचारिक भ्रमणमा नयाँदिल्ली निस्किएका थिए। जनरल शाह नेपालबाट भारतीय वायुसेनाको विशेष विमानमा १६ मंसिरमा दिल्ली पुगेका थिए।

दिल्लीको पालम हवाईअड्डामा उनलाई त्यहाँका सेना प्रमुख जनरल एसएचएफजे मानेकसाले स्वागत गरेका थिए। जहाँ उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यही दिन अपराह्न जनरल शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धासुमन अर्पण गरेका थिए। त्यहाँका सेना प्रमुख जनरल मानेकसाले सोही बेलुकी उनको सम्मानमा हैदराबाद हाउसमा रात्रिभोज आयोजना गरेका थिए।

अर्को दिन १७ मंसिरमा जनरल शाहले बिहानपख भारतका रक्षामन्त्री सरदार स्वर्ण सिंह, रक्षासचिव एचसी सरिनसँग शिष्टाचार भेट गरेका थिए। दिउँसो जनरल शाह राष्ट्रपति भवन पुगेका थिए। त्यसै अवसरमा भारतका तत्कालीन राष्ट्रपति भीभी गिरीले नेपाली सेनाका प्रधानसेनापति जनरल शाहलाई भारतीय सेनाको मानार्थ जनरलको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

राष्ट्रपति गिरीबाट जनरल शाहले तरबारसमेत पाएका थिए। श्री ३ महाराज र श्री ५ महाराजपछि नेपाली सेनाका प्रधानसेनापतिले भारतको मानार्थ जनरल प्राप्त गरेको त्यही नै पहिलो अवसर थियो। जनरल शाहको सम्मानमा राष्ट्रपति कार्यालयमा दिवा भोज आयोजना गरिएको थियो। त्यस्तै जनरल शाहले भारतीय सेना प्रमुख जनरल मानेकसालाई चाँदीको खुकुरी उपहार दिएका थिए। जनरल शाह दुई दिन दिल्लीमा रहेका थिए। त्यसपछि उनी जम्मुकश्मीर, देहरादुन, आगरालगायतका भ्रमण गरी मंसिर २६ मा नेपाल फर्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast