काठमाडौँ- नेपालमा आएर प्रेममा परेका अमेरिकी सहायक परराष्ट्रमन्त्री डोनाल्ड लु काठमाडौँ आउने भएका छन्। मध्यएसिया र यस क्षेत्र हेर्ने लु भारतमा भारत र श्रीलंका भ्रमण सकेर नेपाल आउन लागेका हुन्। लु नेपालमा तीन दिन रहनेछन्। दक्षिण एसिया क्षेत्रमा रहेर काम गरिसकेका लु यतिबेला अमेरिकी परराष्ट्र मन्त्रालयमा यही क्षेत्र हेर्ने जिम्मेवारीमा छन्।
लु २०७८ मंसिरयता चार पटक नेपाल भ्रमण गर्ने अमेरिकी कूटनीतिज्ञ हुन्। यसपटक उनी मंसिर २३ मा नेपाल आएर २५ गते फर्कने कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीहरूले बताएका छन्। कूटनीतिक सेवामा प्रवेश गरेलगत्तै उनी आफ्नो पोस्टिङ भारतमा हुँदा नेपाल घुम्न आएका थिए।
चिनियाँ मूलका अमेरिकी नागरिक लु नेपालमा रहँदा यहाँको पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु संरक्षण, दिगो विकास, पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी परराष्ट्र मन्त्रालयले जनाएको छ। लुले नेपालमा रहँदा युवासँग साक्षात्कार गर्नुका साथै पत्रकारसँग आफ्ना धारणा राख्नेछन्।
लु करिअर कूटनीतिज्ञ हुन्। उनले जो बाइडनको कार्यकालमा यस क्षेत्रको विकासका लागि राम्रै काम गरेका छन्। तीन वर्षअघि एमसीसी पारित गर्न नेपाल भ्रमणमा रहँदा उनले सन १९९३ मा दार्जिलिङबाट नेपाल आएका थिए।
लु ३१ वर्षअघि नेपाल आउँदा प्रेमिकाका साथ आएका थिए। यहाँ आएको तीन वर्षपछि उनीहरूको विवाह भएको थियो। लु पहिलो पटक नेपाल आउँदा मोटर रिक्सा चढेका थिए। सार्वजनिक बस चढी मधेशका जनकपुर, चितवन राष्ट्रिय निकुञ्ज हुँदै काठमाडौँ आएको उनले बताएका छन्।
उनले त्यति बेला गर्मीका कारण प्रायः बसको छतमा बसेर यात्रा गरेको स्मरण गरेका थिए। चितवन राष्ट्रिय निकुञ्जभित्र जिप चढेर घुमेको, जनकपुरमा दीपावलीका बेला पुग्दा त्यहाँ कहिल्यै भुल्न नसक्ने रमाइलो भएको पनि जनाएका थिए। लुले काठमाडौँ उपत्यका रहँदा पाटनका अदभुत सम्पदा घुमेको प्रसंग पनि स्मरण गरेका छज्।
‘विश्वकै सर्वोत्कृष्टमध्येका केही खाना चाखेका थियौँ’, उनले भनेका छन्। उनी नेपाल आउँदा स्वादिला नेवारी परिकारको खोजीमा रहने बताउँछन्। उनले भनेका छन्, ‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो। किनभने म पहिलोपटक प्रेममा परेको यहीँ हो।’