उपनिर्वाचन : माओवादी ‘जिउँदै छ’, एमालेलाई ‘अपेक्षाकृत भएन’

किरण पौडेल १९ मंसिर २०८१ २०:०९
16
SHARES
उपनिर्वाचन : माओवादी ‘जिउँदै छ’, एमालेलाई ‘अपेक्षाकृत भएन’

काठमाडौँ- स्थानीय तहको उपनिर्वाचनको नतिजा आइसकेको छ। उपनिर्वाचनमा संख्याका आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो बनेका छन्। यसबाहेक अन्य साना दललाई उपनिर्वाचन ‘अफाप’ सिद्ध भएको छ।

मंसिर १६ सम्पन्न निर्वाचन परिणामलाई लिएर राजनीतिक दलहरू समीक्षामा लागेका देशभर ४४ सिटमा चुनाव भए पनि दलहरूले उपनिर्वाचनलाई निकै महत्त्व दिएका थिए। दुईवटा आमनिर्वाचनको बीचको समय भएकाले पनि दलहरूले यसलाई निर्णायक ठानेका थिए। यसपटक पूर्वदेखि सुदूरपश्चिमसम्म उपनिर्वाचन भएको थियो।

तीन पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए। जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख छन् भने एकजना वडाध्यक्ष छन्। परिणाम जसका पक्षमा आए पनि उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको छ। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस एक नगरपालिकाका प्रमुख र १६ वडामा निर्वाचित भएको छ।

नेकपा माओवादी केन्द्र एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाको उपाध्यक्ष, एक नगरपालिकाको उपमेयर र सातवटा वडाध्यक्षसहित ११ स्थानमा निर्वाचित भएको छ। नेकपा एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा निर्वाचित भएको आयोगले जनाएको छ। जसपा नेपाल २, रास्वपा १, एकीकृत समाजवादी १, नेमकिपा १ र स्वतन्त्र उम्मेदवार एक स्थानमा निर्वाचित भएका छन्।

माओवादीलाई हौसला

मत परिणामले दोस्रो बनेपछि माओवादी हौसिएको छ। किनभने सत्ताबाट बाहिरिएको झड्कामा माओवादीलाई उपनिर्वाचनले राहत मिलेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन्।

उनले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ। यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’

उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको प्रचण्डको भनाइ छ। माओवादी यसअघिका प्रायः चुनावमा तालमेल गर्दै आएको थियो। यसपटक ठूला दल एकतिर हुँदा माओवादी साना दलसँग मात्र तालेमल गर्न बाध्य भएको थियो। माओवादीले उपनिर्वाचनको परिणामले ‘ऊर्जा’ बढाएको दाबी गरेको छ।

‘पूर्वदेखि हामीमा ०६४ को झल्को दियो,’ माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ भन्छन्, ‘उपनिर्वाचन परिणामले माओवादी जिउँदै छ भन्ने देखायो।’ सापकोटा अब माओवादी आफ्नै खुट्टामा एक्लै उभिने दाबी गर्छन्।

यसअघि माओवादीतर्फबाट निर्वाचित दुई गाउँपालिका उपाध्यक्ष र सात वडाध्यक्षको निधन भएको थियो। उपनिर्वाचनमा माओवादी सात वडाध्यक्ष, एक उपाध्यक्ष र एक गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ।

माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ। यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो।

माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा फराकिलो मतले चुनाव जित्यो। त्यहाँ माओवादीकी नरपुरा बुढाले कांग्रेसको रुख चिह्न लिएर चुनाव लडेकी एमालेकी केशकुमारी तुलाचनलाई पराजित गरिन्।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा पनि माओवादी उम्मेदवार निर्वाचित भए। अघिल्लोपटक उपप्रमुख जितेको कांग्रेसलाई माओवादीकी देवका लामिछानेले पराजित गरेर ‘स्तब्ध’ पारिन्।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार नमोनारायण माझीको सानदार विजयी भयो। पालैपालो एमाले-कांग्रेसले जितेको यहाँ यसपटक माझीको जितपछि देशको पूर्वी क्षेत्रको तराई क्षेत्रमा माओवादी प्रभाव कायम रहेको देखाएको छ।

परिणामले माओवादीलाई ‘एक्लै लड्ने सक्ने शक्ति’का रूपमा दर्ज गराएको माओवादी नेता अमनलाल मोदी बताउँछन्। ‘माओवादी रूकुम-रोल्पामा मात्र सीमित हुन्छ भन्ने थियो तर पूर्वमा पनि जित्यो’, मोदी भन्छन्।

माओवादीले काठमाडौँ उपत्यकाभित्र पर्ने कीर्तिपुर नगरपालिकामा पनि दोस्रो स्थानमा रह्यो। कीर्तिपुरमा उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी हुँदा माओवादीका शिवशरण महर्जन ४ हजार ५ सय ५५ मत सहित दोस्रो बनेका छन्।

एमालेको ‘परिणाम अपेक्षाकृत आएन’

उपनिर्वाचन परिणामअनुसार एमाले तेस्रोमा पुगेको छ। एमालेका उम्मेदवार ८ ठाउँमा निर्वाचित भएका छन्। पालिका प्रमुख १, उपप्रमुख २ र ५ वडाध्यक्षमा पराजित भएको छ। एमालेलाई एकातिर उत्साह बढाएको छ भने अर्कातिर धक्का दिएको छ। संख्यामा बढाए पनि जनमत खास बढेको देखिँदैन। यसैले आउँदो चुनावमा एमालेलाई धक्का लाग्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ।

उदाहरणका लागि कीर्तिपुर नगरपालिकामा एमाले तेस्रोमा खुम्चिएको छ। काठमाडौँ महानगरापलिका-१६ मा पनि एमाले दोस्रो बन्यो। कोशी प्रदेशको मोरङमा पर्ने ग्रामथान गाउँपालिका एमाले तेस्रो मात्र बन्यो। जहाँ माओवादीका नमोनारायण माझी ६९६९ मत ल्याएर विजयी बने। कांग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याएर दोस्रो हुँदा एमालेका तुलसीराम विश्वासले ४१५९ मत मात्र ल्याए।

‘यसबाट एमालेलाई खास फाइदा भएको छैन। हामीले अबको चुनावमा निकै मिहिनेत गर्नुपर्ने जस्तो देखिन्छ,’ एमाले नेता विशाल भट्टराई भन्छन्, ‘परिणाम अपेक्षाकृत आएन।’ एमालेले यसपटक मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्षमा गुमाएर निर्वाचन भएको थिएन। यसैले पनि थपिएको सबै क्षेत्र एमालेको ‘बोनस’ हो। वडाध्यक्षमा मत गुम्दा ‘ग्रासरुट’ निर्माणमा ध्यान दिनुपर्ने देखिएको भट्टराईको भनाइ छ।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले एमाले सोचेजस्तो बलियो नभएको र माओवादी सोचेजस्तो कमजोर नदेखिएको बताए। खतिवडा एमालेको ‘ग्राउन्ड’ बलियो नभएकाले आगामी दिनमा प्रभाव घट्न सक्ने बताउँछन्।

प्रभाव क्षेत्रमै कमजोर बने जसपा नेपाल र जनमत

उपनिर्वाचनमा मधेशलाई आधार बनाएर राजनीति गर्ने साना दललाई धक्का लागेको छ। मधेश प्रदेशका ४ जिल्लाको ६ स्थानीय तहमा उपनिर्वाचन भएको थियो। सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपाल नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६ र गढीमाई नगरपालिका-८ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचनमा भाग लिनै सकेको थिएन। लोसपाले उपनिर्वाचनमा भाग लिन नसक्नुलाई प्राविधिक त्रुटि भनेको छ। मधेशमा प्रतिस्पर्धाको होडमा रहेका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टीलाई उपनिर्वाचनको परिणामले धक्का लगाएको छ।

यसपटक जसपा नेपालले दुई वडाको वडाध्यक्षमा चित्त बुझाएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र वडा नम्बर ४ मा जित निकाल्दै जसपा नेपालले अस्तित्व बचाएको थियो।
जनमतका उम्मेदवारे एक वडामा तेस्रो नम्बरमा मत ल्याउने बाहेक अन्य वडामा प्रतिस्पर्धामै आउन सकेनन्।

धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मा विजयी हुँदा सातौं नम्बरमा जनमतका उम्मेदवार कुशेश्वर मण्डल मात्र २५ मतमा सीमित भएका छन्। यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा त जनमतले उम्मेदवार समेत उठाउन सकेन।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर विजयी हुँदा पाँचौ नम्बरमा जनमतका उम्मेदवार शैलेन्द्र साह तेलीले ७४ मत मात्र पाएका छन् । डाकनेश्वरीको वडा नम्बर ४ मा जसपा नेपालकै उम्मेदवार देवेन्द्रप्रसाद यादव ३७२ मतले जित निकाल्दा तेस्रो नम्बरमा जनमतका उम्मेदवार उदयनारायण पण्डितले २३१ मत पाए।

रौतहटको ईशनाथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले निर्वाचित भए। त्यहाँ जनमतका उम्मेदवार सेख जमिरुल हक चौथो नम्बरमा १३५ मतमा सीमित भए।

यस्तै रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतले निर्वाचित हुँदा जनमतका उम्मेदवार सरेन्द्र राउत कुर्मी छैटौँ नम्बरमा रहे। उनले मात्र ८ मत पाए।
रौतहटकै राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी हुँदा चौथो नम्बरमा जनमतका उम्मेदवार कयामुद्दिन धुनिया मात्र ४५ मतमा सीमित भएका छन्।

सप्तरी जनमतका अध्यक्ष सीके राउतको गृह एवं निर्वाचन क्षेत्र भएको जिल्ला हो। जहाँ गएको चुनावमा जनमतले एक मात्र प्रत्यक्षमा सिट जितेको थियो। तर अहिले त्यही क्षेत्रमा जनमत नतिजाविहीन बन्यो। जनमत मधेशको नेतृत्वकर्ता दल हो। वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने दललाई ठूलो धक्का लागेको खतिवडाको विश्लेषण छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast