काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलवार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्ताराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा यस शीर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरूसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिने बताए।
उनले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्ताराष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताए। अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताए।
मन्त्री सुडीले भने, ‘हालसम्म प्राप्त उपलब्धिको संरक्षण गरी थप उपलब्धि प्राप्त गर्ने दिशामा अपाङ्गता भएका व्यक्तिहरू सक्रिय हुने अपेक्षा लिएको छु। ७७ वटै जिल्लामा अपाङ्गता भएका व्यक्तिका लागि सहायता सामग्री वितरण गर्नेछौं।’
उनले गत सरकारले अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने भनेर सम्झौता गरे पनि बजेट नछुट्याएको बताए। बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रबन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिलाई सहायता प्रदान गर्ने उनको प्रतिबद्धता छ।