हिउँदे बालीका लागि छैन मल

रमेश भारती २० मंसिर २०८१ ८:३५
26
SHARES
हिउँदे बालीका लागि छैन मल

काठमाडौँ- मौसमी खेती लगाउने सिजनमा किसान रासायनिक मल अभावको भोग्न बाध्य भएका छन्। तराई र पहाडका धेरै किसानले गहुँ, चना, मसुरो, तोरी, फापर, जौ, मकैलगायतका हिउँदे बालीका लागि मल नपाएका हुन्। नेपालमा युरिया, डीएपी र पोटास मल उत्पादन हुँदैन। सोही कारण सरकारले बर्सेनि भारतबाट मल खरिद गरेर ल्याउने गरेको छ। सरकारले समयमा मल ल्याउन नसक्दा बर्सेनि किसानले समस्या भोग्दै आएका छन्।

अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले किसानले मल नपाएको गुनासो दैनिक गरिरहेको बताए। ‘तराईका किसानले मलको अभाव भयो। सरकारसँग पहल गरिदिनुपर्‍यो भनेर दैनिक फोन गर्छन्। महासंघले त्यहीअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गरिरहेको छ’, उनले भने।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले पनि मलको समस्या समाधान गर्ने र किसानलाई चाँडै मल उपलब्ध गराउन कृषि मन्त्रालयसँग आग्रह गरेको छ। कृषिप्रधान देशमा कृषकका समस्या चाँडै समाधान हुनुपर्ने महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले बताए। किसान मल अभाव भयो भनेर दैनिक गुनासो गर्छन्। हामीले सोहीअनुसार सरकारसँग पहल गरिरहेका छौँ’, उनले भने।

कृषि मन्त्रालयका अधिकारीहरू भने मलको अभाव नभएको दाबी गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अभाव भएका जिल्लामा मल पठाइसकेको बताए। यही साता सबै जिल्लामा मल पुग्ने उनको दाबी छ। ‘कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक लाख २३ हजार मेट्रिक टन मल मौज्दात छ। अनुदानको करिब ५० हजार मेट्रिक टन जति मल भित्रिने क्रममा छ’, केसीले भने। हिउँदेबाली लगाउन मलको अभाव नहुने उनी बताउँछन्।

कति छ मल मौज्दात?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जीटुजी विधिबाट अनुदानको मल खरिद गरेर ल्याउने जिम्मा दिएको छ। यी दुवै कम्पनीले भारत र अन्य देशबाट वार्षिक चार लाख ८० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने गरेका छन्।

कृषि मन्त्रालयले एक लाख बढी रासायनिक मल मौज्दात भएको जनाएको छ। हिउँदे बाली १ लाख २३ हजार १६८ मेट्रिक टन मल मौज्दात छ। युरिया ७१ हजार ४६१ मेट्रिक टन, डीएपी ४३ हजार ८६८ मेट्रिक टन र पोटास ७ हजार ८३८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सचिव केसीले बताए।

साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग २३ हजार ८९१ मेटिक टन र कृषि सामाग्री कम्पनी लिमिडेटसँग ९६ हजार २७७ मेट्रिक टन रासायनिक मल मौज्दात छ। यति मल हिउँदेबालीका लागि नपुग्ने दुवै कम्पनीका कर्मचारी बताउँछन्। हिउँदेबालीका लागि कम्तीमा एक लाख ६० हजार मेट्रिक टन मलको माग हुन्छ। सरकारले चार लाख ८० हजार मल खरिद गर्दै आएको छ। नेपालमा वार्षिक ७ देखि ८ लाख मेट्रिक टनभन्दा मलको माग हुने गरेको छ।

मल नपाएपछि तराई र पहाडका किसान भारतबाट मल खरिद गरेर ल्याउन बाध्य छन्। सरकारले चालु आर्थिक वर्षमा रासायनिक मल खरिद गर्न ३० अर्ब रकम विनियोजन गरेको छ। अहिले यसका टेन्डरका लागि आह्वान गर्ने लागिएको कृषि मन्त्रालयले जनाएको छ। नेपालमा मल कारखाना खोल्न लगानी बोर्डले अध्ययनसमेत गरिरहेको छ।

प्रकाशित: २० मंसिर २०८१ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast