सकियो रविको बयान, पोखरा फर्काउने तयारी

हिमाल प्रेस १७ मंसिर २०८१ २०:१९
16
SHARES
सकियो रविको बयान, पोखरा फर्काउने तयारी

पोखरा- पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोमबार काठमाडौँमा बयान सकिएको छ। बयान सकिएपछि अब उनलाई मंगलबार पोखरा फर्काउने तयारी छ। उनको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रहरीले चार दिनसम्म बयान लिएको हो।

कास्की प्रहरी हिरासतमा रहेकै बेला काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनलाई १३ मंसिरमा काठमाडौँ लगिएको थियो।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर उक्त रकम खर्च गर्न लामिछानेको संलग्नता रहेको आरोप छ। स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जीबी राईको नाममा दुईपटक ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ। लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको दाबी छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका उनलाई कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा पनि बयानका लागि रुपन्देही सरकारी वकिल कार्यालय लगिएको थियो। उनीमाथि चितवनको सहारा सहकारी, वीरगञ्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोप छ। उनलाई पोखरा फर्काएर चितवनमा बयानका लागि लगिने जनाइएको छ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन, चौथोपटक १३ दिन र पाँचौँपल्ट १५ दिन गर्दै अनुसन्धानका लागि म्याद थप भएको हो। गत ९ मंसिर (आइतबार) मा उनलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो।

न्यायाधीश बेल्वासेको इजलासले पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो।

गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछानेमाथि पोखरामा जिल्ला सरकारी वकिल कार्यालयले सुरुको बयान पूरा गरिसकेको जनाएको छ।

यदि थप प्रमाण भेटिए फेरि बयान हुन सक्ने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन्। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। सो बमोजिम ७० दिन पूरा भएको छ। गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको समेत छवि जोशी पक्राउ गरेको ६ असोजलाई पहिलो दिन मानेर म्याद मिलान भएको उनले बताइन्।

प्रकाशित: १७ मंसिर २०८१ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast