काठमाडौँ- बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालबालिका क्षेत्रमा लामो समयदेखि क्रियाशील नूपुर भट्टाचार्य र वरिष्ठ चित्रकार अशोकमान सिंहलाई सम्मान गर्ने भएको छ।
केन्द्रले मेघमानव र मंकीमाइन्ड पुस्तकालयलाई पनि पुरस्कृत गर्ने भएको छ। केन्द्रले हालै गरेको निर्णयअनुसार भट्टाचार्यलाई २०८१ सालको “साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान” र श्रेष्ठलाई “के. के. बालवाङ्मय कला साधना सम्मान” बाट सम्मानित गर्न लागेको हो।
अध्यक्ष अनन्त वाग्लेका अनुसार सम्मान तथा पुरस्कारमा क्रमश: २५ हजार र १० हजार नगद राशि रहनेछ।
साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान केन्द्रका सल्लाहकार प्रमोद प्रधानले र केके बालवाङ्मय चित्राङ्कन पुरस्कार अर्का सल्लाहकार केके कर्माचार्यले स्थापना गरेका हुन्।
२० वर्षमुनिका लेखकबाट लेखिएका कृतिमध्ये २०८० सालको “राकुपा बालवाङ्मय प्रतिभा पुरस्कार” अर्चितबाबु मर्सीफुलको मेघमानवलाई र “जय-हीरा बालवाङ्मय किशोर आख्यान पुरस्कार” शान्ति सापकोटाको किशोरकथासंग्रह मंकीमाइन्ड लाई प्रदान गर्न लागिएको हो।
दुवै कृतिका लागि पुरस्कार राशि १०-१० हजार रुपैयाँ रहेको छ। यी दुवै पुरस्कार पनि केन्द्रका सल्लाहकारद्वय प्रा.रामकुमार पाँडे र लेखक सिर्जना शर्माले स्थापना गरेका हुन्।
यी सबै पुरस्कार तथा सम्मान आगामी २०८१ साल मंसिर २५ गते केन्द्रको वार्षिक उत्सवका अवसरमा काठमाडौँ आयोजना गरिने समारोहमा समर्पण गरिनेछ।