काठमाडौँ- विद्यालय शिक्षा, शिक्षक अधिकार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान दिएका मोहन ज्ञवालीको निधनले अपूरणीय क्षति भएको उनका पूर्वसहकर्मी र निकटवर्तीहरूले बताएका छन्। शिक्षकका प्रतिनिधि तथा सरोकारवालाले ज्ञवालीलाई नेपालको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा स्मरण गरेका हुन्।
नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी ज्ञवालीले विद्यालय शिक्षाको विकासमा पुर्याएको योगदान सधैँ स्मरण भइरहने बताउँछन्। ‘उहाँले सामुदायिक विद्यालयको विकास मात्र नभएर पुस्तकालय स्थापना र शैक्षिक भौतिक पूर्वाधार निर्माणमा पनि योगदान दिनुभएको छ’, गिरीले भने।
ज्ञवालीले स्थानीय समुदायसँग सहकार्य गर्दै शैक्षिक संस्थाहरूलाई आधुनिक प्राविधिक सुविधा उपलब्ध गराउन पहल गरेको गिरी सम्झन्छन्। ज्ञवाली सार्वजनिक शिक्षामा गुणस्तरबारे सधैँ चिन्तित हुन्थे। नारा लगाउँदैमा शिक्षा गुणस्तरीय नहुने उनको बुझाइ थियो। ‘गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय लगानी र व्यवस्थापन हुनुपर्छ भन्नुहुन्थ्यो,’ अध्यक्ष गिरी भन्छन्, ‘गुणस्तरीय शिक्षाका लागि अभियान सञ्चालन गर्ने व्यक्ति हो उहाँ।’
गिरीको भनाइमा ज्ञवाली नेपालको शिक्षा क्षेत्रको एउटा धरोहरका रूपमा स्थापित थिए। ज्ञवालीको निधनले नेपालको शिक्षा क्षेत्र मात्र होइन लोकतान्त्रिक आन्दोलनमै क्षति पुगेको उनी बताउँछन्। गिरी भन्छन्, ‘शैक्षिक आन्दोलनको एक महत्त्वपूर्ण हस्ती ज्ञवाली हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा उभिनुहुन्थ्यो।’
ज्ञवालीले नेपाल शिक्षक संघ राष्ट्रिय समितिको एक कार्यकाल महासचिव, दुई कार्यकाल राष्ट्रिय अध्यक्ष, सार्क शिक्षक महासंघको अध्यक्ष भएर शिक्षा क्षेत्रमा योगदान पुर्याए। नेपाल शिक्षक संघको वर्तमान संघीय कार्यसमितिको सल्लाहकार उनी नेपाल शिक्षक संघ कास्की जिल्लाको अध्यक्ष पनि भएका थिए।
ज्ञवाली देशभरका शिक्षकलाई एकाकार गरेर एउटै छाताभित्र ल्याउनुपर्छ भन्ने उद्देश्य राख्थे। त्यसका लागि उनले नेपाल शिक्षक युनियनको समेत स्थापना गरे। गिरीका अनुसार ज्ञवाली युनियनका पहिलो महासचिव हुन्।
गिरी भन्छन्, ‘शिक्षक संघसंगठनका नेताहरूका बीचमा उहाँ प्रिय हुनुहुन्थ्यो। उहाँबाट अभिभावकीय नेतृत्व क्षमता सिक्नुपर्छ। उहाँ प्रखर व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको सादगी जीवन सबैका लागि उदाहरणीय छ।’
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी मोहन ज्ञवालीलाई शैक्षिक आन्दोलनको एक धरोहरका रूपमा स्मरण गर्छन्। ‘ज्ञवाली शैक्षिक आन्दोलनको एक धरोहर हो। उहाँ नेपाल शिक्षक संघमा लागेर नेपाली कांग्रेसको नेता भए पनि शिक्षकका हकहितका लागि लड्नुपर्छ, पक्षपाती गर्नुहुँदैन भन्ने एक मूर्धन्य व्यक्तित्व हुनुुहुन्थ्यो। उहाँले कहिल्यै पनि नेपाली शिक्षकको हकहितका लागि लड्न छोड्नु भएन’, अध्यक्ष भण्डारीले भने।
अध्यक्ष भण्डारीले आफ्ना लागि भन्दा पनि शिक्षकका लागि लड्ने एक साहसी, निर्भीक, मूर्धन्य व्यक्तिका रूपमा ज्ञवालीलाई नेपाली शिक्षा क्षेत्रले सम्झनुपर्ने बताए।
रानीदेवी माध्यमिक विद्यालय काठमाडौँका प्रधानाध्यापक नारायणप्रसाद गौतम मोहन ज्ञवालीलाई एक प्रखर वक्ताका साथै शिक्षकले रुचाएको शिक्षक नेताका रुपमा सम्झन्छन्। प्रधानाध्यापक गौतमले ज्ञवालीको निधनले सिंगो शिक्षा क्षेत्रलाई मात्र नभई राष्ट्रलाई क्षति पुगेको बताए।
गौतमले भने, ‘मोहन सर प्रखर वक्ता हुनुहुन्थ्यो। शिक्षक तथा कर्मचारीको हकहितका लागि सरकारसँग डटेर लड्नुहुन्थ्यो। शिक्षा क्षेत्रले मात्र नभई राष्ट्रले नै अभाव महसुस गर्ने व्यक्तित्व हो उहाँ। राजनीतिक दलहरूलाई शैक्षिक रूपले दिशानिर्देशन गर्न सक्ने क्षमतामा उहाँमा थियो।’ ज्ञवाली नेपाल शिक्षक संघको पाँचौँ र छैटौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।
२०२२ असोज २ गते गुल्मीको छत्रकोट-३ हर्दिनेटामा जन्मिएका ज्ञवालीले प्रारम्भिक शिक्षा गाउँमै लिएका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेपछि कास्कीबाट शिक्षण पेसामा लागेका ज्ञवालीले हंसपुर र पोखराको भद्रकाली क्षेत्रमा लामो समयसम्म अध्यापन गराए। उनको निधन मंसिर १४ गते काठमाडौँमा भएको हो।