काठमान्डुँ– तीव्र गतिका बलर सोहेल तनवीरको उत्कृष्ट प्रदर्शनप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुखद् सुरुवात गरेको छ। र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न दिनको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजविरुद्ध पाँच विकेटको सहज जित निकालेको हो।
काठमान्डुले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। छैटौँ विकेटका लागि सन्तोष कार्की र शरद भेषावकरले ४६ रनको अविजित साझेदारी गरेपछि चितवनले सहजै लक्ष्य भेट्टाएको हो।
सन्तोष २८ र भेषावकर ११ रनमा अविजित रहे। चितवनका ओपनर दिपक बोहोरा ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। हसन इसाखिल १२ रन बनाउँदा पेभेलियन फर्के।ल्युक मार्टिन बेनकेन्स्टाइन १७ बलमा १ चौका र २ छक्का सहयोगमा २२ रन बनाउँदा गेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा परे।
कुशल मल्ल र रवि बोपारा समान ११ रन बनाउँदै आउट भए। काठमान्डुका साहब आलमले ३ विकेट झारे। गेहार्ड इरासमस र डान डौथवेटले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको थियो।
काठमान्डुँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिने तनविर पहिलो खेलाडी बने। उनले आफ्नो स्पेलमा मात्र २१ रन दिए।
कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक विकेट झारे। सुमित महर्जनले बनाएको २९ रन नै काठमान्डुका लागि सर्वाधिक रह्यो। माइकल लेभिटले २५ रन थपे। चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे।
डान डौथवेट १९ र दिपेश कँडेल १ रनमा अविजित रहे। भिम सार्की, करण केसी र साहब आलम १ रनमा पेभेलियन फर्के। रासिद खान ४ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ११ औँ ओभरको तेस्रो बलमा शंकर राना १६ रन बनाउँदै पेभेलियन फर्के। चौथो विकेटका रुपमा काठमान्डुले भीम सार्कीलाई गुमाएको थियो। भिम १ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे। तेस्रो विकेटका रुपमा जेहार्ड इरासमसलाई गुमाएको हो।
पाँचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए। दोस्रो ओभरको पहिलो बलमा अोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल तनविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए। आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।