
इटहरी- मोरङको ग्रामथान गाउँपालिकाको मतगणना आज (आइतबार) राति १० बजेदेखि गर्ने निर्णय भएको छ। अध्यक्षका लागि आज (आइतबार) भएको मतदानपछि बसेको सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।
बैठकमा राति १० बजेदेखि मतगणना गर्ने सहमति जुटेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार दुई वटा वडाको मतपत्र एकैठाउँ मिसाएर मतगणना गर्ने तयारी छ। दुई वटा वडाको मतगणना सकिएपछि पुनः अरू दुई वटा वडाको मतगणना गरिनेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तेतरियामा मतगणना गर्ने तयारी छ। गाउँपालिकाको कार्यालय पनि त्यहीँ रहेको छ।
ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको निर्वाचनमा ७१.३३ प्रतिशत मत खसेको थियो। ग्रामथानमा २६ हजार ४४ मतदाता थिए। तीमध्ये १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएका हुन्। जसमा ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष मतदानमा सहभागी भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए।
ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो। विभिन्न दलबाट १५ र स्वतन्त्र एक सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। गत असार ३ गते उनको निधन भएपछि अध्यक्ष चयनका लागि आज उपनिर्वाचन भएको हो। ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन्।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन्।