
कैलाली- जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुललाई आज (आइतबार) निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
निर्वाचन अधिकृत प्रेमराज भट्टले उनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेकी हुन्। उनलाई आजै जिल्ला अदालतमा आयोजित समारोहमा न्यायाधीश दण्डपाणी लामिछानेले पद तथा गोपनीयताको सपथ गराए।
जिसस प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले यसअघि नै उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। भुल नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाको दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्। कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदमबहादुर कलेलको निधन भएपछि यो पद रिक्त भएको थियो।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहेका निर्वाचन अधिकृत भट्टले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए।
बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुल मतदाताको ५२ प्रतिशत मत खसेको छ। त्यहाँ सात हजार चार सय ६० मतदाता थिए।
यसैगरी बझाङको सुर्मा गापा-४को वडा अध्यक्षको चुनावमा ७६ प्रतिशत, डोटीको पूर्वीचौकी गापा—६को वडा अध्यक्षको चुनावमा ५३, दाुर्चलाको दुहुँ गापा-५को वडा अध्यक्षको चुनावमा ६९ र कञ्चनपुर भीमदत्तनगर नगरपालिका-६को वडा अध्यक्षको चुनावमा ५५ प्रतिशत मत खसेको उनले जानकारी दिए।