
काठमाडौँ- लगातार दोस्रो पराजय बेहोर्दै नेपाल एसीसी यु-१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। बंगलादेशका लागि जवाज अबरारले ६५ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे। यसैगरी कप्तान अजिजउल हाकिम तमिमले ७० बलमा तीन छक्का र दुई चौकाको मद्दतले ५१ र मोहम्मद फरिद हसन फैसलले १३ रन बनाए।
नेपालका लागि युवराज खत्रीले चार र कप्तान हेमन्त धामीले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पार्यो।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान गरे। त्यस्तै विकेटकिपर ब्याटर उत्तम थापामगर र अभिषेक तिवारीले समान २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाललाई सामान्य योगफलमा रोक्न बंगलादेशका अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई विकेट लिए। यसैगरी साद इस्लाम रजिन, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिम तमिमको नाममा एक-एक विकेट रह्यो।
पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५५ रनको हार ब्यहोरेको थियो। नेपालले समूहको अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्नेछ।