काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा गरिमा अनुबन्धित भएकी छन्। निर्माण टिम र कलाकार तथा मोडल गरिमाबीच केहीदिनअघि लिखित सम्झौता भएको हो।
म्युजिक भिडियोबाट चर्चामा आएकी गरिमा पहिलोपटक सोलो अभिनेत्रीको रुपमा अभिनय गर्न लागेकी हुन्। ‘लण्डन टु पेरिस’बाट नेपाली फिल्ममा डेब्यु गरेकी गरिमाले ‘ह्रस्व दीर्घ’ र ‘वर एण्ड वधु’मा सहायक कलाकारकाे रुपमा अभिनय गरिसकेकी छन्। गरिमाले चौथो फिल्मबाटै गरिमाले मुख्य भूमिकामा काम गर्ने अवसर पाएकी छन्।
सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्ममा यसअघि सौगात मल्ल र आशिफ शेख अनुबन्धित भैसकेका छन्। निर्माण टिमका अनुसार यही मंसिर २० बाट फिल्मको वर्कसप सुरु हुनेछ। फिल्मको छायांकन आगामी पुसदेखि सुरु गर्ने टिमकाे तयारी छ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको फिल्म कमेडी कथावस्तुमा आधारित रहनेछ। बेहुली भित्र्याएपछि जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ।
ग्रामीण परिवेश र त्रिकोणात्मक प्रेमकथालाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ। यसअघि फिल्मको थिम पोस्टर सार्वजनिक भइसकेको छ। मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा सन्तोष गौतमले लगानी गर्नेछन्।