नेपाल अझै परेन इजरायलको ‘आप्रवासी कामदार भित्र्याउने स्रोत’ देशमा

रमेश भारती १६ मंसिर २०८१ ११:३१
14
SHARES
नेपाल अझै परेन इजरायलको ‘आप्रवासी कामदार भित्र्याउने स्रोत’ देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत सुमलिक एरी बासबीचको शिष्टाचार भेटवार्ता। तस्बिर : श्रम मन्त्रालय

काठमाडौँ- इजरायलले नेपाली कामदार भित्र्याउन थालेको दुई दशक बढी भइसकेको छ। अहिलेसम्म इजरायलको आप्रवासी कामदार भित्र्याउने स्रोतमा भने  नेपाल परेको छैन। इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लगिरहेको छ।

यी देशलाई इजरायलले आप्रवासी कामदार भित्र्याउने स्रोत राखे पनि नेपालीलाई त्यो सूचीमा राखेको छैन। यस विषयमा नेपालबाट बारम्बार कूटनीतिक पहलकदमी भएका छन्। तर पनि नेपाल इजरायलको आप्रवासी सूचीमा परेको छैन।

यही विषयमा गत बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत सुमलिक एरी बाससँग भएको शिष्टाचार भेटवार्तामा भएको थियो। भण्डारीले नेपाललाई आप्रवासी कामदार भित्र्याउने स्रोत भएको देशमा राख्न आग्रह गरेका थिए।

मन्त्री भण्डारीले राजदूत बाससँग नेपाललाई इजरायलको आप्रवासी कामदारको स्रोत देशमा राख्न र नेपाली कामदारको सुरक्षासँगै सुविधा बढाउन आग्रह गरेका थिए। श्रममन्त्री भण्डारीको आग्रहमा इजरायली राजदूतले नेपाललाई पनि आप्रवासी कामदार भित्र्याउने स्रोत देशमा राख्ने आश्वासन दिएको श्रम मन्त्रालयले जनाएको छ।

श्रममन्त्रीसँग भएको भेटवार्तामा द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन र कामदारको स्रोत देशका रूपमा नेपाललाई इजरायललाई सूचीकृत गर्ने आग्रह गरिएको श्रमका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिए। उनका अनुसार इजरायलको कृषि र निर्माणमा नेपाली कामदार पठाउन पहल र सहजीकरणका विषयमा छलफल चलिरहेको छ।

कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको अधिकार संरक्षण र सुरक्षालगायत विषयमा गम्भीरताका साथ छलफल भइरहेको उनले बताए। ‘दीर्घकालीन स्याहार केन्द्रका लागि केयर गिभरका रूपमा छनोट भएका नेपाली कामदारलाई यथाशीघ्र इजरायल पठाउने तयारी भइरहेको छ। इजरायलले पनि नेपाली कामदार लैजान र त्यहाँको अवस्था सामान्य बन्दै गएको जानकारी गराएको छ’, उनले भने।

किन पर्दैन नेपाल इजरायलको आप्रवासी कामदार भित्र्याउने स्रोतमा?

इजरायलले वार्षिक तीन हजारभन्दा कम श्रमिक लैजाने देशलाई आप्रवासी कामदार भित्र्याउने स्रोत देशमा राख्दैन। त्यही भएर नेपाल इजरायलको आप्रवासी कामदार भित्र्याउने स्रोत देशमा परेको छैन। नेपालबाट वार्षिक एक हजार पाँच सय कामदार इजरायल वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांकमा छ।

नेपालले पनि कृषि, स्वास्थ्य र निर्माण क्षेत्रमा वार्षिक तीन हजारभन्दा बढी कामदार पठाउने गरी इजरायलको सम्बन्धित पक्षसँग छलफल गरिरहेको श्रममन्त्री भण्डारीले जानकारी दिए। इजरायलले नेपाललाई चाँडै विदेशी कामदार भित्र्याउने स्रोत देशमा राख्ने उनको भनाइ छ। इजरायल जान केयर गिभरका लागि २ हजार १ सय १२ जना नेपाली श्रमिक छनोट भएका छन्। त्यसमा १ हजार १५६ महिला र पुरुष ९५६ जना छन्।

गत ९ कात्तिकमा नेपालले इजरायलमा कामदार नपठाउने निर्णय गरेको थियो। त्यसपछि इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको छ। वैदेशिक रोजगारीका लागि इजरायल जान यसअघि छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयले इजरायलसँग समन्वय र पहल गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८१ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast